लोग्ने-स्वास्नी : कज्याउने र वशमा राख्ने दुष्चक्र !

लोग्ने-स्वास्नी : कज्याउने र वशमा राख्ने दुष्चक्र !


वशमा राख्ने स्वास्नी होस् वा कज्याउने लोग्ने, दुवैले एकआपसमा प्रेमको नाटक मञ्चन गरिरहेका हुन्छन् । कज्याउने र वशमा राख्ने व्यवहारको अग्निकुण्डमा प्रेम, एकआपसी सहयोगको भावना, समानानुभूति, स्वाभाविक मायालु र हेरविचार गर्ने व्यवहार जलिसकेको हुन्छ ।
✍ गोविन्दशरण उपाध्याय

(१) विवाह गरेर दुरान फर्काउन जाँदा कमलाकी आमाले भन्नुभयो ‘छोरी, दुलाहालाई आफ्नो वशमा राख्नु पर्छ । यसका लागि सामदाम, दण्ड तथा भेद सबै उपायहरू अवलम्बन गर्नु परे पछि हट्नु हुँदैन । लोग्नेलाई वशमा राख्ने स्वास्नी मान्छे सुखी हुन्छन् । लोग्ने वशमा राखियो भने आफूले चाहेको कुरा पुग्छ ।’

(२) दुरानबाट घर फर्किएको छोरा सन्तोषलाई आमाले भन्नुभयो, ‘बाबु, स्वास्नी कज्याउन सक्ने लोग्नेको समाजमा इज्जत हुन्छ । स्वास्नीलाई सधैं आफूले भनेको मान्ने गराउनु पर्छ, नत्र टाउकोमा चढ्छन् । लोग्नेको कुरा नमान्ने, लोग्नेको कुरा नसुन्ने, जवाफ फर्काउने स्वास्नीसँग घरबार चल्न गाह्रो हुन्छ । स्वास्नीको मात्र कुरा सुन्नेलाई दुनियाले ‘जोइटिङ्ग्रे’ भन्छन् ।

०००

माथि उल्लेख गरिएका दूवै घटना काल्पनिक हुन् । कसैको वास्तविक जीवनसँग मिल्न गए आश्चर्य मान्नु पर्दैन । समाज र संस्कृति दुवै परिवर्तनशील हुन्छन् । आजका ‘लोग्नेस्वास्नी’ अलि फरक शैलीमा वसमा राख्ने र कज्याउने अभ्यास गर्छन् । अचम्मको कुरा त के भने ‘वशमा राख्ने’ आकांक्षा ‘पढेलेखेका मोडर्न’मा बढ्दो छ भने कज्याउने शैली खान्दानी वा परम्परागत शैलीका लोग्नेस्वास्नीमा छ । अपवादबाहेक जब लोग्ने र लोग्नेको परिवारले शिक्षित महिलालाई ‘कज्याउने’ व्यवहार थाल्छ, लोग्नेस्वास्नीका बीचमा ‘खटपट’ आरम्भ हुन्छ, जसको परिणाम डिभोर्स वा आत्महत्याको रूपमा देखिने सम्भावना हुन्छ । यसैगरी, ‘वशमा राख्ने’ व्यवहारको पनि अन्तिम बिन्दु पारिवारिक विखण्डन नै हुन्छ । यसै सेरोफेरिमा सम्बन्धित लोग्नेस्वास्नीले ‘म म’ भन्दै आफ्नो व्यवहार र सोचमा परिवर्तन गर्न आरम्भ गर्नुपर्छ । परिवार, बालबालिका र लोग्नेस्वास्नी दुवैको ‘भलो’ हुन्छ ।

‘स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने’ भन्नेजस्ता अतिवाद नेपाली समाजमा आज पनि शक्तिशाली छन् । खासगरी, न्युक्लियर फेमिलीको अभिरुचि बढ्दै गर्दा ‘जोइटिग्रे’हरूको सङ्ख्या बढेको छ भन्ने अनुभव संयुक्त परिवारमा हुर्किएका अभिभावकहरूको छ । अर्कोतिर संयुक्त परिवारमा भन्दा ‘एकल परिवारमा छोरी बढी सुखी हुन्छे’ भन्ने मान्यता ससुरालीहरूतिर बलियो देखिन्छ भने नवविवाहित लोग्नेस्वास्नीले पनि सुख ‘एकल परिवारमा नै’ देख्न थालेका छन् । प्रश्न एकल परिवार वा संयुक्त परिवारको होइन, प्रश्न ‘लोग्नेलाई वशमा राख्नु र स्वास्नी कज्याउनु उचित हो ? के यस्तो अभ्यासले लोग्नेस्वास्नीका बीचमा प्राकृतिक प्रेम सम्बन्ध दीगो होला ?’ भन्ने हो ।

असलमा, नेपाली समाजमा ‘स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने’ भन्ने मान्यता आज पनि फरकरूपमा विद्यमान छ । जुन परिवारका लोग्ने वा स्वास्नीले यस्तो मान्यताको आधारमा आफूलाई प्रस्तुत गर्छन्, त्यो परिवारको शान्ति सधैंका लागि समाप्त हुन्छ । लोग्नेलाई वशमा राख्ने अभ्यास गर्ने स्वास्नी मान्छेले परिवार र लोग्ने गुमाइसकेका हुन्छन् । लोग्नेलाई वशमा राख्ने ‘एजेण्डा’मा काम गर्ने स्वास्नीमान्छेले लोग्नेलाई त माया गर्लान् तर लोग्नेका आमाबुबा, छरछिमेकी, सम्बन्धीहरूलाई पटक्कै मन पराउँदैनन् । संयुक्त परिवारलाई जेलखानासरह मान्छन् ।

यस्तै, स्वास्नीलाई ‘कज्याउने’ मनस्थिति र व्यबहार भएको लोग्ने र लोग्नेका आमाबुबा वा परिवारका लागि स्वास्नी फगत काम गर्ने÷गराउने सित्तैको सेविकाबाहेक केही हुँदैन । लोग्ने र लोग्नेका मातापिता वा आफन्तको खुसीको लागि स्वास्नीमान्छेले आफ्नो स्वतन्त्रता, इच्छा तथा सीपहरू गुमाउनुपर्छ । महिलाका भावनाहरूको कुनै महत्व हुँदैन । लोग्नेका यौनचाहना पूरा गर्नु, इच्छाए÷नइच्छाए पनि उसको लागि बच्चा जन्माइदिनु, हुर्काइदिनु र परिवारको अत्याचार सहेर पनि ‘घरपरिवार’को कठोर अनुबन्धभित्र रहनु नै ‘संस्कारी स्वास्नी’ हुनु हो ।

जीवनसाथीसँग सहकार्य, सम्वाद तथा सहअस्तित्व र आदरका साथ व्यवहार गर्नुपर्छ । नत्र, लोग्नेस्वास्नीको सम्बन्ध बाध्यात्मक हुन्छ । त्यहाँ न प्रेम हुन्छ, न आदर हुन्छ, न आदर्श हुन्छ ।

वशमा राख्ने स्वास्नी होस् वा कज्याउने लोग्ने, दुवैले एकआपसमा प्रेमको नाटक मञ्चन गरिरहेका हुन्छन् । कज्याउने र वशमा राख्ने व्यवहारको अग्निकुण्डमा प्रेम, एकआपसी सहयोगको भावना, समानानुभूति, स्वाभाविक मायालु र हेरविचार गर्ने व्यवहार जलिसकेको हुन्छ । वशमा राख्नुको अर्थ ‘लोग्ने हरदम मेरो नियन्त्रणमा रहोस्, मेरो अनुमतिविना सास पनि नफेरोस्’ भन्ने अतिवादसँग जोडिन्छ, जसले लोग्ने र लोग्नेको परिवारलाई ‘बस्तु’का रूपमा व्यवहार गर्छ । लोग्ने पूर्णतया स्वास्नीको आज्ञामा काम गर्ने ‘सेवक’सरह हुन्छ । स्वास्नीको झगडालु स्वभावबाट जोगिन लोग्नेले स्वास्नीका सामु आत्मसमर्पण गर्छ । दुर्भाग्यवश, यस्तो परिवारमा माइतीपक्षको चर्को समर्थन रहने गरेको नेपाली परिवारहरूको अनुभव छ ।

यसैगरी, स्वास्नी कज्याउनेहरूले विवाह गरेर लोग्नेको घरमा आएकी युवतीलाई परिवारको सदस्य भन्दा पनि छोराले विवाह गरेर ल्याएको ‘सेविका’को व्यवहार गर्छन् । कज्याउने चिन्तन र व्यवहार भएको लोग्ने एउटा भयानक सपना हो स्वास्नीमान्छेका लागि । हाम्रो समाजमा धेरै महिलाले छोराछोरीका लागि यस्ता लोग्ने र उसको परिवारसँग सम्झौता गरेका हुन्छन् । रगतको आँसु पिएर जीवनयापन गरिरहेका हुन्छन् । ‘संस्कारी’ र ‘परिवारको लागि’ स्वास्नीको सम्पूर्ण उर्जा र स्वतन्त्रताको चाहना समर्पित हुन्छ ।

‘वशमा राख्ने’ र ‘कज्याउने’ यी दूवै स्वभाव भएका लोग्नेस्वास्नीको घरपरिवार राम्रो र असल देखिए तापनि जिउँदो ग्रिनेडसरह हुन्छ । कतिबेला, यस्तो परिवार पूर्णतया अशान्ति, द्वन्द्व र विखण्डनको भुमरीमा फस्छ भन्न सकिन्न । असल स्वास्नीले लोग्नेलाई ‘वशमा राख्ने’ होइन, संयमित तवरले स्वतन्त्रताको उपयोग गर्ने, मायालु जीवनसाथीका रूपमा विश्वास गर्नुपर्छ । अन्यायविरुद्ध बोल्नुपर्छ तर वशमा राख्नका लागि माइतीको अभिमत पक्षमा छ भने अस्वीकार गर्नुपर्छ । ‘कन्ट्रोल’ गर्ने स्वभावका कारण कुनै दिन लोग्नेको विश्वास गुम्न सक्छ । विश्वास गुमेपछि पुनः त्यसलाई आर्जित गर्न सजिलो हुँदैन । त्यसैले कन्ट्रोल होइन सहकार्य, जीवनसाथीका रूपमा लोग्ने र लोग्नेका परिवारसँग व्यवहार गर्नुपर्छ ।

‘कज्याउने’ मनसाय र व्यवहार दुवै आत्मघाती व्यवस्था हुन् । विवाह एक जनाको मात्र भएको होइन । विवाह गरेर धर्मपत्नी बनाएपछि ‘कज्याउने’ भन्ने मनसाय नै अनुचित, आपत्तिजनक र लोग्नेस्वास्नीका बीचमा हुने स्वाभाविक प्रेमको बाधक हो । त्यसैले स्वास्नीलाई कज्याउने चिन्तन तुरुन्त त्याग्नुपर्छ । जीवनसाथीसँग सहकार्य, सम्वाद तथा सहअस्तित्व र आदरका साथ व्यवहार गर्नुपर्छ । नत्र, लोग्नेस्वास्नीको सम्बन्ध बाध्यात्मक हुन्छ । त्यहाँ न प्रेम हुन्छ, न आदर हुन्छ, न आदर्श हुन्छ । त्यसैले पत्नीलाई ‘कज्याउन’ सिकाउने र उक्साउनेका सल्लाहहरू विनम्रतापूर्वक अस्वीकार गर्नुपर्छ ।

अन्त्यमा, एकल परिवारमा बस्ने कि संयुक्त परिवारमा बस्ने कुराको निर्णय आवश्यकता, परिवेश तथा स्थिति विचार गरेर लोग्नेस्वास्नी आफैले गर्नुपर्छ । एकल परिवार होस् वा संयुक्त परिवार.. दुवैमा आ-आफ्ना असल र कमसलपन हुन्छन् । असल जीवनसाथीले एकअर्कालाई ‘वशमा राख्ने’ वा ‘कज्याउने’ जस्ता अनर्थ व्यवहारलाई ‘लोग्नेस्वास्नी’का बीचमा प्रवेश गर्न दिनु हुँदैन । असलमा, पति र पत्नी दुवै एकआपसमा पूरक हुनुपर्छ । पूरक, सहयोगी तथा विनम्र हुनुमा शान्ति, सुख र आनन्द छ । लोग्नेस्वास्नीहरू ईश्वरका सर्वोत्तम रचना हुन्, जसको सहकार्यले विश्व खुशी, सुखी र आनन्दित हुन्छ ।

जयहोस् ।