ब्रह्म सत्य जगत् मिथ्या !

ब्रह्म सत्य जगत् मिथ्या !


जगत् या हामी बाँचेको यो संसारलाई मिथ्या भन्न मिल्ने, भ्रम भन्न मिल्ने आधारहरू जताततै छन् । हामी बाहिर जे देखिन्छौँ भित्र त्यो नहुन सक्छौँ । हरेक मानिसमा दैवी र राक्षसी दुवै गुण हुन्छ । ती गुणहरू बढ्ने या घट्ने कुरा हाम्रो खानपान, जीवनशैली र हामी बाँचेको वातावरणसँग सम्बन्धित छन् ।
✍ बबिता बस्नेत

संस्कृत शब्द ‘ब्रह्म’को अर्थ हुन्छ अनुभवमा आधारित वास्तविकता । आदि शंकराचार्यले ‘ब्रह्म’लाई अपरिवर्तित आत्मा भन्नुभएको छ । वेदान्तमा उल्लेख भएको यो शब्दलाई लिएर आदि शंकराचार्यले ‘ब्रह्म सत्य जगत् मिथ्या’ भन्नुभएको हो । जगतको अर्थ भौतिक संसार हो । आध्यात्मिक अर्थात् आफैभित्रको संसार सत्य र बाहिरको संसार भ्रम भन्ने अर्थमा ब्रह्म सत्य जगत् मिथ्या भनिएको हो ।

‘ब्रह्म’लाई सबैभन्दा ठुलो अर्थात् ‘महा’को अर्थमा पनि लिइन्छ । जस्तै- ब्रह्मवाक्य, ब्रह्मज्ञान, ब्रह्मविचार, ब्रह्मचार्य, ब्रह्मसूत्र आदि । संस्कृतका कतिपय शब्दहरू सूत्रवाक्यमा प्रयोग हुन्छन् । अहं ब्रह्मास्मि, तत्वमसी जस्ता शब्दहरू सूत्रमा प्रयोग गरिने शब्दहरू हुन् जसको ब्याख्या जति गरेपनि हुन्छ । यस्तै, सबैभन्दा ठुलो ज्ञान ब्रह्मज्ञान हो । मानिस आफैभित्र ब्रह्माण्ड छ, त्यो ब्रह्माण्डभित्र जे-जति र जस्ता कुराहरू छन् तिनको पहिचान गरी जानकारी राख्न सक्ने र अरुलाई बताउन सक्ने अवस्थामा पुग्नु ब्रह्मज्ञानी हुनु हो । ब्रह्मज्ञानीलाई सुख र दुःखले फरक पार्दैन । ज्ञान मुलतः तथ्यात्मक, बस्तुगत र अनुभवजन्य हुन्छ । ब्रह्म भन्नु नै आत्मा हो भन्ने पनि छ । जसरी ज्ञानको सुरुवात र अन्त्य छैन त्यसैगरी ब्रह्म अर्थात् आत्माको सुरु र अन्त्य हुँदैन । आत्मा संधै अजर अमर रहन्छ भन्ने मान्यता छ । आत्मा सत्य हुन्छ र सत्य हो भन्ने अर्थमा ब्रह्म सत्य भनिएको हो ।

जीवन र जगत् भ्रम हो भन्ने मान्यता सनातन हिन्दु दर्शनमा छ । विगतमा हिन्दु दर्शनले भन्दै आएको संसार भ्रम हो भन्ने कुरालाई अहिले वैज्ञानिकहरूले गरेका कतिपय अनुसन्धानले ‘युनिभर्स इलुजन’ हो भन्ने देखाइरहेका छन् । ब्रह्माण्डको बारेमा खोज जारी छ । सन् २०१९ मा ब्रह्माण्डको बारेमा खोजी गर्ने वैज्ञानिक प्रोफेसर जेम्स पीबल्सले ब्रह्माण्डको रहस्यका बारेमा गरेको अनुसन्धानले भौतिक शास्त्रको नोबेल पुरस्कार प्राप्त गरेको थियो । हिजो सनातन मान्यताले भन्दै आएको कुरा अहिले वैज्ञानिकहरूले सही सावित गर्दै आएका छन् ।

उपनिषद् भन्छ, मानिस आफैमा ब्रह्माण्ड हो । उपनिषद्को चार महावाक्य मध्ये एक हो- अहं ब्रह्मास्मि, अर्थात् म नै ब्रह्माण्ड हुँ । कतिले यसलाई म नै ब्रह्मा हुँ भनेर पनि अर्थ्याएका छन् । सनातन हिन्दु धर्म ग्रन्थहरू यति शक्तिशाली छन् कि जम्मा एउटा वाक्यलाई लिएर मानिसहरूले विद्यावारिधि गरेका छन् । अहं ब्रह्मास्मिका बारेमा सोध गर्नेहरूको सङ्ख्या ठुलो छ । म नै ब्रह्माण्ड हुँ अर्थात् ब्रह्माण्डमा जे छ त्यो ममा छ, ममा जे छ त्यो ब्रह्माण्डमा छ । ब्रह्माण्ड जे तत्वले बनेको छ, मानिसभित्र पनि त्यही छ ।

मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ- जल, वायु, पृथ्वी, अग्नि र आकाश । यसको अर्थ सारा ब्रह्माण्ड हाम्रो शरीरभित्रै छ । हाम्रो शरीरमा पानी ७२ प्रतिशत, पृथ्वी १२ प्रतिशत, वायु ६ प्रतिशत, अग्नि ४ प्रतिशत र बाँकी अकाश अर्थात् मष्तिष्कले भरिएको हुन्छ भनिन्छ । यी पाँच तत्वको सन्तुलन नै मानिसको जीवन हो । शरीर, मन, भावना र मष्तिष्क फरक कुरा हुन्, मष्तिष्कले यी सबै कुराहरूलाई निर्देश गरिरहेको हुन्छ ।

कहिलेकाहीँ बिहान जुरुक्क उठ्दादेखि नै मन त्यसै-त्यसै खिन्न भइरहेको हुन्छ । जिन्दगीमा ठुलै दुर्घटना भए जस्तो, त्यसै नरमाइलो… कस्तो… कस्तो… ! जिन्दगी नै विघटन भए हुन्थ्यो जस्तो… !! तर, जति सम्झिएपनि भएको चाहिँ केही पनि हुँदैन । कहिलेकाहीँ चाहिँ उठ्दै खुशी लाग्ने, रमाइलो त्यसै-त्यसै जिन्दगीमा के-के नै उपलब्धि भएजस्तो भइरहेको हुन्छ । ब्रह्माण्डमा पनि त्यस्तै हुन्छ, कहिले बिहान झलमल्ल घाम लागिरहेको हुन्छ, कहिले मनै नरमाइलो हुने गरी धुम्म धुम्मिन्छ । कहिले पानी पर्छ, कहिले हावा चल्छ, अग्नि बाहिरिँदा ज्वालामुखी विष्फोट हुन्छ ।

प्रायः हामी कुनै कुरामा दोधार भयौँ भने आत्मालाई सोध, आफ्नो ब्रह्मले जे भन्छ त्यही गर भन्ने गर्छौं । ब्रह्मले आफूभित्रको उज्यालो र सही कुरा देख्छ भन्ने छ । गीताको अध्याय १३ मा ज्योतिहरूको पनि ज्योति त्यो ब्रह्म अँध्यारोबाट ज्यादै दूर छ, समस्त हृदयमा छ भनिएको छ । आफूभित्रको ब्रह्मलाई हामीले कति र कसरी उजागर गर्छौं भन्ने कुरा मात्र हो ।

गीतामा आत्मालाई शस्त्रले काट्न सक्दैन, आगोले जलाउन सक्दैन, पानीले गलाउन सक्दैन र वायुले उडाउन र सुकाउन सक्दैन भनिएको छ । गीताको अध्याय २ मा आत्माको लामो ब्याख्या गरिएको छ । गीताले ब्याख्या गरेको आत्मा नै ब्रह्म हो । आत्मा न कहिल्यै जन्मन्छ न मर्छ, यो त अजन्मा नित्य, शास्वत हो, शरीर नाश हुँदा यो नाश हुँदैन भनिएको छ । अध्याय ८ मा अर्जुनले कृष्णलाई सोधेका छन्, हजुरले वर्णन गर्नुभएको ब्रह्म के हो ? अध्यात्म केलाई भनिन्छ ? कर्म कस्तो हुनुपर्छ ? अधिभूत केलाई भनिन्छ ? केको रूप अधिदेव हो ? जवाफमा कृष्णले भन्नुभएको छ- परम अविनाशी ब्रह्मको स्वभाव हो । जीवात्मा अध्यात्म हो, प्राणीको भावलाई जागृत गराइ कार्य गर्नु कर्म हो । ब्रह्म अविनाशी हुन्छ भनेर यहाँ आत्मासँग जोडेर हेरिएको छ ।

प्रायः हामी कुनै कुरामा दोधार भयौँ भने आत्मालाई सोध, आफ्नो ब्रह्मले जे भन्छ त्यही गर भन्ने गर्छौं । ब्रह्मले आफूभित्रको उज्यालो र सही कुरा देख्छ भन्ने छ । गीताको अध्याय १३ मा ज्योतिहरूको पनि ज्योति त्यो ब्रह्म अँध्यारोबाट ज्यादै दूर छ, समस्त हृदयमा छ भनिएको छ । आफूभित्रको ब्रह्मलाई हामीले कति र कसरी उजागर गर्छौं भन्ने कुरा मात्र हो ।

अब जगतको कुरा गरौँ, संसार परिवर्तनशील छ । प्रकृति, मानिस सबै परिवर्तनशील छन् । मानव शरीर र प्रकृतिबीचमा गहिरो सम्बन्ध छ, जुन पञ्चतत्वले यो कुराको पुष्टि गरेको छ । जगत् या हामी बाँचेको यो संसारलाई मिथ्या भन्न मिल्ने, भ्रम भन्न मिल्ने आधारहरू जताततै छन् । हामी बाहिर जे देखिन्छौँ भित्र त्यो नहुन सक्छौँ । हरेक मानिसमा दैवी र राक्षसी दुवै गुण हुन्छ । ती गुणहरू बढ्ने या घट्ने कुरा हाम्रो खानपान, जीवनशैली र हामी बाँचेको वातावरणसँग सम्बन्धित छन् । त्यही कुरा कतै शील हुन्छ, कतै अश्लील, कतै संस्कार त कतै कुसंस्कार । नेपालमा वृद्ध आमाहरूले स्कट लगाएर हिँडे भने राम…राम…के जमाना आयो भनेर समयलाई दोष दिइएला, त्यही पोशाक युरोप-अमेरिकातिरका सोही उमेरका आमाहरूले पहिरिँदा सभ्य देखिएला । जगतमा मिथ्या कुराहरू धेरै हुन सक्छन् । जगत् या संसार सत्य भन्दा पनि दृष्टिकोण र बुझाइसँग सम्बन्धित छ ।

मानिसमा प्रायः धेरै कुरामा असमानता हुन्छ । लवाइ-खुवाइ, रहनसहन, परिवेश, धनी गरिब, उमेर, समूदाय, वर्ग धेरै कुरामा, तर समानता भने सबैमा करिब उस्तै-उस्तै हुन्छ । एक्लै हुँदा प्रायः मानिसको मन भावनाप्रधान भइरहेको हुन्छ । हरेक मानिसले कुनै न कुनै रूपमा आफ्नो मृत्युको बारेमा सोचिरहेको हुन्छ । मेरो मृत्यु कसरी हुन्छ होला ? साथमा को हुन्छ होला ? कोही होला कि नहोला ? हरेक मानिसलाई सुखी र खुशी हुने चाहना हुन्छ । कुनै पनि मानिसले मैले अहिलेसम्म सुख पाएँ अबचाहिँ दुःख पाउँदा पनि केही हुन्न भन्ने सोच्दैन । हरेक मानिसलाई आफू हुनुको महत्व आफ्नो वरिपरि होस् भन्ने चाहना हुन्छ । धन, मान, सम्मान, प्रशंसामा सबै मानिस खुशी हुन्छन् । आफ्नो आलोचना गरियोस् भन्ने चाहना कसैलाई हुँदैन । आफूले गरिरहेको काम, सोचिरहेको कुरा प्रायः सबैलाई महत्वपूर्ण लाग्छ ।

मानिसले जे कुराका लागि जिन्दगीको महत्वपूर्ण समय दिइरहेको हुन्छ अन्त्यमा प्रायः जीवन यो भन्दा राम्रो हुन सक्थ्यो भन्ने निष्कर्षमा टुङ्गिने गरेको छ । अस्पतालमा या घरमा बसेर जीवनको करिव-करिव अन्तिमतिरको सास फेरिरहेकाहरूलाई सोधियो भने सबैको जवाफ ‘यो भन्दा राम्रो हुन सक्थ्यो’ भन्ने नै हुन्छ । त्यसको अर्थ हामी अहिले वर्तमानमा के के नै गरिरहेका छौँ भन्ने ठानिरहेका छौँ भने त्यो भ्रम मात्रै हो । आफूले जति अरुले केही नजानेको ठान्ने मानिसहरूको सङ्ख्या हामीकहाँ ठुलो छ, उनीहरू भन्दा जान्ने मानिसहरू यो संसारमा कति छन् भन्ने थाहा नपाएकाहरूले ठान्ने कुरा हो त्यो । धन, सम्पत्ति, मुहार, ज्ञान सबैमा लागु हुने कुरा हो यो । तर आफू एक्लै हुँदा या बिरामी हुँदा ठान्ने र सोच्ने कुरा भने सत्य हो ।

मानिसले गर्ने ब्यवहार, खाने, बस्ने, बोल्ने सबै तौरतरिका एक्लै हुँदा र अरुका अगाडि फरक हुन्छ । भित्रैबाट आएको बाहेक बाहिर देखाएको हाँसो मिथ्या हो, भ्रम हो । एक्लै हुँदा रसाएका आँखा या मनमनै परिकल्पना गरेर निस्किएको मुस्कुराहट सत्य हो । कुनैपनि मानिसले पूर्ण सत्य या पूरै भ्रमको जीवन बाँचिरहेको हुँदैन । हामी सबै नै कुनै न कुनै प्रकारको सत्य र भ्रमबीचको जीवन बाँचिरहेका छौँ । सत्यको चाहना हुँदाहुँदै पनि भ्रमहरूकै बीच एक दिन यो संसार छोडेर जानेछौँ ।