उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदूत भेरोनिक लोरेन्जोबीच गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भारत र नेपालका लागिसमेत लेबनानका राजदूत लोरेन्जोले आफ्नो कार्यकालको यो चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताउनुभयो ।

नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । विभिन्‍न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्तसमेत उहाँले दिनुभयो ।

गृहसम्बद्ध स्रोतका अनुसार नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति राजदूत लोरेन्जोले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराउनुभयो । नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उहाँले प्रशंसा गर्नुभयो।

भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिँदै लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी गराउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिनुभयो।