बालमन्दिरको जमिन ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी बिहीबार (२५ असार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल बाल सङ्गठनकी तत्कालिन योजना तथा छात्रावृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल सङ्गठन ललितपुरका तत्कालिन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल सङ्गठन काठमाडौंका तत्कालिन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले नेपाल बाल सङ्गठन र बाल मन्दिरको सम्पत्ति हिनामिना तथा आर्थिक अनियमितता सम्बन्धमा उच्च स्तरीय जाँचबुझ आयोगले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया