राष्ट्र, राष्ट्रप्रेम र राष्ट्रवाद

राष्ट्र, राष्ट्रप्रेम र राष्ट्रवाद


आफ्नी आमालाई माया गर्नेले अर्काकी आमाको पनि अवहेलना गर्न सक्दैन । आफ्नो राष्ट्रको भक्ति गर्नेले स्वभाविकरूपले पराइ राष्ट्रको पनि इज्जत गर्न जानेको हुन्छ । पराइ राष्ट्रलाई अकारण द्वेष गर्ने भावना किमार्थ राष्ट्रवाद होइन ।
✍ स्वयम्भुनाथ कार्की

राष्ट्रसँग ‘वाद’ लागेर राष्ट्रवाद भन्ने वित्तिकै यसलाई राजनीतिसँग जोडिएको सम्झिनु गलत बुझाइ हो । सबै ‘वाद’ जोडिएका शब्दहरू राजनीतिसँग सम्बन्धित हुँदैनन् । प्राणीहरूको विकासको चार्ल्स डार्विनको सिद्धान्तलाई विकासवाद भनिन्छ । यो विल्कुलै गैरराजनैतिक कुरा हो । नेपालीमा साधारणतया कुनै सिद्धान्तलाई ‘वाद’ शब्द जोडेर चिनाउने गरिन्छ । त्यसैले ‘वाद’ देख्ने वित्तिकै त्यसलाई राजनीतिसँग जोड्नु ठिक हैन ।

त्यसै पनि केही ‘वाद’ राजनीतिभन्दा माथि हुन्छन्, राष्ट्रवाद एक उदाहरण हो । राष्ट्रवादविहीन जनताको बाहुल्य भएको राष्ट्रलाई आफ्नो अस्तित्व कायम राख्न हम्मे-हम्मे पर्छ । केही दशकपहिले राष्ट्रवादलाई अन्धो, उग्र र अनेक विशेषण लगाउन प्रशिक्षित राजनैतिक चेत थियो । राष्ट्रवादी भनिनु उनिहरूको निमित्त गालीसरह लाग्ने गर्दथ्यो । यसरी केही वर्षपहिलेसम्म राष्ट्रवाद र राष्ट्रवादीहरू भन्ने शब्द पनि सुन्न नचाहनेमध्येका केही दल आफूलाई राष्ट्रवादी भनाउन लागिपरेका छन् । कतिपय दल अहिले पनि राष्ट्रवादलाई सङ्कृर्ण रुढीवादी धारणा मान्ने नै छन् ।

यसरी सद्यःराष्ट्रवादी भएका दलहरूको राष्ट्रवादको परिभाषा भने भ्रान्तिवाद भन्न सकिने गरेर फरक छ । योे भ्रान्तिवादलाई राष्ट्रवाद भनेर विराध गर्ने दलहरू भने समग्रमा राष्ट्रवादको उछित्तो काढ्न थालेका छन् । यी दुवै पक्षले भन्ने गरेको राष्ट्रवाद ‘भ्रान्तिवाद’ हो राष्ट्रवाद हैन । विनाराष्ट्रवाद यो संसारमा कुनै राष्ट्र बनेको छैन, राष्ट्रवाद हराउनेवित्तिकै राष्ट्रपनि हराएको छ । जुन–जुन दलले केवल राष्ट्रवादलाई गाली गरेर आफूलाई जीवित राखे तिनका सदस्यहरूले राष्ट्रवाद अस्विकार गर्नु त्यति अनौठो नहोला । उनिहरूकै लहैलहैमा राष्ट्रवाद नै आफ्नो आधार हो भन्ने दलका युवा नेताहरू, कार्यकर्ताहरू पनि राष्ट्र र राष्ट्रवादलाई फरक देख्छन् भने कि त्यो दलको सैद्धान्तिक आधार कमजोर छ कि आफ्ना सदस्यहरूलाई बुझाउन सकेको छैन भन्ने बुझ्नुपर्ने हुन्छ ।

राष्ट्रवादलाई सङ्कृर्ण, रुढीवादी भन्ने धारणा राख्ने दलमा भएका अपवादबाहेकका सदस्यहरू राष्ट्रलाई माया गर्दछन् । उनीहरू राष्ट्रको हितलाई सर्वोपरि मान्छन् त्यसैले मनदेखि उनिहरू राष्ट्रवादी हुन् । सबै दलका शुभेच्छुकहरूलगायत सम्पुर्ण जनता नै राष्ट्रवादी हुन् । तैपनि केही दलका मेठहरूले आफ्नाहरूलाई राष्ट्रवाद शब्द नराम्रो भन्न सिकाएको भेटिन्छ ।

राष्ट्रप्रेम भएका सबैको साझा समर्पण राष्ट्रवादमा नै हुन्छ । अनि यो सबैमा एकै किसिमको नै हुन्छ । अर्थात्, राष्ट्रवादको कुनै वर्गिकरण हुँदैन, राष्ट्रप्रेम नाप्ने, जोख्ने वा भर्ने कुनै गज, तुलो वा मानापाथी हुँदैन । नेपालीको निमित्त जापान उत्कृष्ट श्रम गन्तव्यमध्येको एक हो । जापानको जुन स्तरको ज्यामी काम पाए पनि आफूलाई भाग्यशाली मान्नेहरू प्रशस्त भेटिन्छन् । त्यहाँ अलि गतिलो रोेजगार पाउनु त अहोभाग्य हो यस्तो सोच राख्नेहरूलाई । दुई-दुई अणुबमको मारले ध्वस्त भएको जापान अहिले यो स्थानमा पुग्न सकेको नै जापानीहरूमा भएको राष्ट्रवादले हो । राष्ट्र बनाउन अन्य सबै त्यागेर अथक परिश्रम गर्ने ती राष्ट्रवादी जापानीहरूले जापान उन्नत बनाएका हुन् । नत्रभने अहिलेसम्म पनि अणुवमले ध्वस्त भएका शहर देखाएर विदेशी सहायता मागिरहेका हुन्थे ! आजको अग्रगामी नेपालले भुइँचालोको भग्नावशेष, बाढी पहिरोको विनाश देखाएर दातृसमुहको बैठक बोलाएजस्तै । अनि सहायतामा आएको सामाग्रीहरू काखी च्यापेर घर भरिरहेका हुन्थे नेपाली सभासदहरूले त्रिपाल, जस्तापाता, पीपीई आदि काखी च्यापेजस्तो ।

आफ्नो राष्ट्रको जन्मदिने आमासरह इज्जत, मान गर्ने तथा माया गर्नेहरू राष्ट्रवादी हुन् । उनिहरूको यो समर्पण भावना राष्ट्रवाद हो । आफ्नी आमालाई माया गर्नेले अर्काकी आमाको पनि अवहेलना गर्न सक्दैन । आफ्नो राष्ट्रको भक्ति गर्नेले स्वभाविकरूपले पराइ राष्ट्रको पनि इज्जत गर्न जानेको हुन्छ । पराइ राष्ट्रलाई अकारण द्वेष गर्ने भावना किमार्थ राष्ट्रवाद होइन । राष्ट्रवादले अरुलाई अकारण घृणा गर्दैन तर आफ्नो राष्ट्रको अस्मिता, सुरक्षा तथा मान-सम्मानमा चोट पुऱ्याउन खोज्ने आन्तरिक वा बाह्य तत्वसँग सङ्घर्ष गर्न हमेसा तैयार रहन्छ । कुनै देश विषेशको विरोध राष्ट्रवाद होइन । कसैको डर, धाक, लोभ वा लालचले देशलाई परेको चोटको परवाह नगर्नु राष्ट्रवाद नै हैन । एउटाले पिऱ्यो भनेर त्यसको प्रतिद्वन्द्वीको पाउ मल्न जानु पनि राष्ट्रवाद हैन, यो भ्रान्तिवाद हो । कुनै पनि देशको राष्ट्रवाद अर्को देशको राष्ट्रवादको विरोधमा हुन सक्दैन । कुनै देशको विस्तारवाद भने हमेशा छिमेकी देशको राष्ट्रवादको शत्रु हुन्छ । राष्ट्रवाद राजनीति हैन जीवनपद्धति हो, राष्ट्रको जीवनको आधार हो ।