आइमाई-राज्यशोभा श्रेष्ठ

आइमाई-राज्यशोभा श्रेष्ठ


भोक र प्यास पटुकीले बाँधेकीलाई
निर्वस्त्र तिर्सना मेटाएनि भो
कसैले दान गरेनि भो
अघाउने खुराक बनाएनि भो
चाहिए भाँडो, नचाहिए ठाँडो
बनाएनि भो ।

यदि लाग्छ थोत्रो भने
पत्रुको भाउमा छोडेनि भो
फेरि नयाँ सामान ल्याऊ
मग्न मस्त गर
चिथोर, बिथोल, गिजोल
सक्छौ भने गिद्धलेझैँ पारेनि भो
आइमाईलाई ।

आफ्नै चालमा हिँडाएनि भो
आफ्नै तालमा नचाएनि भो
उसको यौवनलाई बेचैनी पार्न
तिमी पुरुष,
सोह्र सय गोपिनीको कृष्ण बनेनि भो
३६५ को राणा जङ्गे बनेनि भो
अझ मर्द बन्न सक्छौ भने
६० पुगेर ६५ लाग्दाताका
कुखुरे बैंस बोलाएनि भो
सताउनु छ भने, आइमाईलाई ।

उनीचाहिँ
दुई मिटर डोरी ल्याउलिन्
सिलिङमा झुन्डिलिन्
टाउको छिराउलिन्
खुट्टा उचाल्लिन्
अन्तमा दुईमुठ्ठी सास न हो
त्यागेर यो दुनियाँ
इन्द्रलोकमै त बस्लिन्
बिचरा, आइमाई !

तिमी भने १३ दिनको काम भ्याउँदा-नभ्याउँदै
नयाँ सामान खोज्लाऊ
लक्का जवान सधैंको
पुरुषार्थ देखाउलाऊ
यो दुनियाँमा
फेरि जीवन सुरु गर्लाऊ
मर्दपुरुषले के भो र, होइन ?
यस्तै नाटक हेरिरहन्छे
तिम्ो वंश जन्माउने
मेसिन बनेर-त्यो आइमाई ।

बेकार जीवन-कृष्णा गोमा
म तिम्रै लागि बाँचेको छु-
भनिदिने कोही छैन
म तिम्रै लागि हाँसेको छु-
यसो भन्ने कोही छैन

उराठ यो जिन्दगीमा
जिउने रहर पनि छैन
उन्मुक्त यो जवानीमा
माया गर्ने कोही छैन

निराशा र उदासीले
दिन बित्न गाह्रो भाछ
आफ्नै मान्छे नभेटेर
जीवन जिउनु बेकार भाछ ।-सुनसरी