विवाह कसका लागि यस्ता हुँदैछन् ?

विवाह कसका लागि यस्ता हुँदैछन् ?


खासमा विवाहमा छिमेकी, आफन्त बोलाउने चलन वैवाहिक सम्बन्धलाई वैधानिकता दिनका लागि थियो । कानून थिएन, विवाह दर्ता गर्ने भन्ने हुँदैनथ्यो । पारिवारिक खुशीका साथै सरोकार पक्षलाई बोलाएर जानकारी दिएपछि समाजले प्रश्न उठाउने ठाउँ रहँदैन भनेर यस्तो चलन राखिएको हुनुपर्छ ।
✍ बबिता बस्नेत

एक शाहजहाँ ने,
ताजमहल बनाकर,
हम गरिबोंका प्यारका
उडाया हे मजाक !!

साहिर लुधियानवीको यो सायरीलाई माथ दिने गरेर भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह आयो । पैसा भएपछि मानिसले के-केसम्म गर्न सक्छ भन्ने कुराको उदाहरण हो यो विवाह, जसले अहिले सामाजिक सञ्जालमा धेरै दिनदेखि एकछत्र राज गरेको छ । भारत र नेपालको विवाह परम्परा करिव-करिव उस्तै हो । सुरुमा केटा र केटीको कुरा छिन्ने जसलाई नेपालमा टीकाटालो भन्ने चलन थियो भने भारतमा हाम्रो जस्तै टीका नलाएपनि माला लगाएर औंठी साट्ने चलन थियो । हिन्दु धर्मावलम्बीहरूमा स्वयम्बरको चलन भारत र नेपाल दुवै ठाउँमा छ । यसमा पनि परम्परा नै जोडिएको छ । हाम्रा धर्मशास्त्रहरूमा उल्लेख गरिएका महिला पात्रहरू सीता, द्रौपदी, कुन्ती, गान्धारीलगायतका कथा आ-आफ्नै भएपनि उनीहरूले स्वयम्बर गरे । स्वयम्बरको अर्थ आफैले वर अर्थात् दुलाहा रोज्नु हो । बाध्यात्मक कहानीहरू भएपनि हाम्रा धर्मशास्त्रका पात्रहरूले ‘म यो मान्छेसँग विवाह गर्दिनँ’ भनेको भए विवाह हुने थिएन ।

हामीकहाँ केही ‘हाइ प्रोफाइल’को विवाहलाई लिएर ‘अति गरे’ भन्ने लागिरहेको बेला मुकेश अम्बानीले पैसा कमाउने भनेकै विवाहमा खर्च गर्नका लागि त हो नि भन्ने शैलीमा खर्च गरे । विश्वका धनीहरू बोलाए, खुवाए, नचाए, घुमाए, अनेक गरे । विवाहका सनातनी विवाहहरू त्यसैपनि हल्दी मेहन्दी संगीतसम्म आइपुग्दा खर्चिलो र भड्किलो बन्दै गएका थिए । भारतको सिको गरेर आएका हल्दी, मेहन्दी, संगीतले नेपाल पनि पूरै ढाकिसक्यो । उसले गऱ्यो, त्यसले पनि गऱ्यो, म मात्रै कसरी नगर्ने ? ऋण गरेर भएपनि यस्ता कार्य त गर्नुपर्छ भन्नेमा धेरैजसो पुगिसके, पुग्दैछन् । हिजो क्रान्तिको नाममा सिन्दुरपोते, चुरालाई जंजिर भन्नेहरूले नै यस्ता विवाहलाई बढावा दिइरहेका छन् । ठुला होटेलमा फूलैफूलका बीच गरिने यस्ता विवाहले सर्वसाधारणलाई के सन्देश दिन्छ भनेर सोचिएको छैन । खर्चसँगसँगै विवाहमा गरिने पारम्परिक कार्य भन्दा अन्य नाटकीय गतिविधिहरू बढिरहेका छन् ।

केही दिनअघि मेरी निकट एक साथीले भनिन्- ‘हेर न, छोराको विवाह गर्नुपर्ने मलाई त कस्तो तनाव छ ।’ ‘सामान्य रूपले गर्नुपर्छ, तनाव किन लिनु ?’ भन्ने मेरो जवाफपछि उनले भनिन्- ‘जति सामान्य गरेपनि एक करोड त लागिहाल्ने रैछ, पैसाभन्दा पनि यहाँ अरु म्यानेज्मेन्ट गर्नै गाह्रो ।’ एक करोड.. ?? म छक्क परेँ । ‘पैसाको मात्र कुरा होइन बबिता यहाँ होटल पाएको छैन’, उनको थप भनाइ थियो । सात महिनापछिको विवाहलाई अहिलेदेखि काठमाडौंका होटलहरू (उनले गर्न चाहेको) बुक भइसकेको सुनेर अचम्म लाग्यो ।

त्यसपछि केही आफन्त र साथीहरूका भब्य वैवाहिक समारोहमा कतै जन्ती त कतै पार्टीमा जाँदा मेरो दिमागमा ‘यो विवाहमा कति खर्च भयो होला ? यतिका फूल जसको भोलिदेखि केही काम छैन… यी फूलहरू नहुँदा यहाँ के हुन्थ्यो ? यति धेरै खानाका परिकार राख्नु जरुरी थियो ? यहाँ जस-जसले खाइरहेका छन्, सवारी साधन नहुनेलाई राति भइसक्यो कसरी घर पुग्नु भन्ने भइरहेको होला… खान त खाइयो यो विवाह पछिसम्म टिक्ने हो कि होइन…’ जस्ता कुराहरूले ठाउँ लिन थाल्यो । यस्तो लाग्नुका पछाडि आफूले भोज खाएर रमाइलो गरेका केही विवाहहरू साक्षी पनि छन् । भब्य समारोहबीच भएको विवाह टुटेपछि विगतका फोटो/भिडियोले दुःख दिएर मानसिक तनावमा पर्नेहरूको सङ्ख्या बढ्दैछ ।

आफन्त र साथीहरूका भब्य वैवाहिक समारोहमा कतै जन्ती त कतै पार्टीमा जाँदा मेरो दिमागमा ‘यो विवाहमा कति खर्च भयो होला ? यतिका फूल जसको भोलिदेखि केही काम छैन… यी फूलहरू नहुँदा यहाँ के हुन्थ्यो ? यति धेरै खानाका परिकार राख्नु जरुरी थियो ? यहाँ जस-जसले खाइरहेका छन्, सवारी साधन नहुनेलाई राति भइसक्यो कसरी घर पुग्नु भन्ने भइरहेको होला… खान त खाइयो यो विवाह पछिसम्म टिक्ने हो कि होइन…’ जस्ता कुराहरूले ठाउँ लिन थाल्यो ।

समय परिस्थितिअनुसार कतिपय चालचलन फेरिनु स्वभाविक हो, तर विवाहका चालचलनमा जे-जस्ता परिवर्तनहरू आइरहेका छन् तिनले समाज परिवर्तनमा योगदान पुऱ्याइरहेका छैनन् । नजिकका आफन्त र साथीहरूका बीच गर्नुपर्ने विवाह हिजोआज सार्वजनिक समारोह बन्दै गएका छन् । जसमा ‘उसले यस्तो गरेको थियो मैले कसरी नगर्नु ? उसले बोलाएको थियो मैले पनि बोलाउनै पऱ्यो नि, एउटै/पहिलो/पछिल्लो सन्तान हो यति त गर्नै पऱ्यो नि’ भन्ने सोच या भावनाले काम गरेको देखिएको छ । सम्धी-सम्धीनी भेटवाला नाटकहरू पनि पहिलाभन्दा बढ्दै गएका छन् । ‘इभेन्ट म्यानेजमेन्ट’का नाममा गरिने त्यति ठुलो खर्च कुनै सामाजिक काममा लगाउन सकियो भने त्यसले ल्याउने परिवर्तनले जिन्दगीभरी खुशी दिन्छ । जिन्दगी साथ-साथ चलेपनि नचलेपनि फोटो/भिडियोवाला तनाव पनि हुँदैन । अहिले हुनेखानेहरूले हल्दी, मेहन्दी, संगीत, रिसेप्सन अनेक नाममा कम्तिमा चार वटा पार्टी गर्ने गरेका छन् । फोटोग्राफी भिडीयोग्राफीका लागि धेरै अघिदेखि बुक हुने रहेछ । होटलमा सजाइएको फूलको मूल्य कम्तिमा दश लाख, इभेन्ट कुन स्तरको गर्ने ? सिल्भर, गोल्डेन, डाइमण्ड… सोहीअनुरुपको खर्च । डिजे चाहियो, गहना, लुगा त साधारण कुरा भइहाल्यो । जेठानीले यस्तो गऱ्यो, देउरानीको कस्तो गर्ने… परिवारभित्रै पनि अदृष्य प्रतिस्पर्धा चलिरहेको छ ।

यी सब तामझामबीचको राम्रो कुरा के हो भने नेपालमा फुलेका फूलको ब्यवस्थापन भइरहेको छ । यद्यपि धेरैजसो फूल बाहिरबाटै आउने रहेछ । फोटो, भिडियो, डिजे लगायतमा युवाहरूले काम पाइरहेका छन् । आर्थिक मन्दीका बीच पनि होटलहरू चलेका छन् । साथमा पैसा भएपछि मान्छेलाई मैले खर्च नगरे यिनीहरूको जिन्दगी कसरी चल्छ र ! भन्ने पनि हुन्छ । आफ्नो खुशीका लागि हुनुपर्ने विवाह अरुलाई देखाउनका लागि या सम्पत्ति प्रदर्शनका माध्यम बन्नु दुःखलाग्दो पक्ष हो । सबैले होइन तर धेरैले विवाहमार्फत दृष्य-अदृष्य प्रतिस्पर्धा गरिरहेका छन् । खासमा विवाहमा छिमेकी, आफन्त बोलाउने चलन वैवाहिक सम्बन्धलाई वैधानिकता दिनका लागि थियो । कानून थिएन, विवाह दर्ता गर्ने भन्ने हुँदैनथ्यो । पारिवारिक खुशीका साथै सरोकार पक्षलाई बोलाएर जानकारी दिएपछि समाजले प्रश्न उठाउने ठाउँ रहँदैन भनेर यस्तो चलन राखिएको हुनुपर्छ । अहिलेका तामझामवाला विवाहहरू रीतिरिवाजका लागि भन्दापनि प्रायः फोटो, भिडियो खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि गरिन्छन् । यदि सामाजिक सञ्जालहरू नहुँदा हुन् त यी विवाहमा न यति धेरै फूलको प्रयोग हुन्थ्यो न त हल्दी, मेहेन्दीवाला कार्यक्रम नै हुन्थे । कतिले त अहिले विवाहमा के-कस्ता रितिरिवाज भए पनि थाहा पाउँदैनन् । फोटो कस्तो आयो, कोसँग आयो भन्ने कुराले महत्व पाउँदा अन्य कुराहरू गौण हुनु स्वभाविक नै हो । विवाह मात्र होइन अन्य रीतिरिवाजहरू पनि त्यस्तै हुँदै गएका छन् ।

विवाह, ब्रतबन्ध, पास्नी जस्ता कुरा मानिसका नितान्त पारिवारिक र आफ्नो वरिपरिका मानिसहरूबीच मनाइने साँस्कृतिक उत्सव हुन् । कुनै पनि ब्यक्तिको खुशीमा पारिवारका सदस्य, नातेदार, आफन्त र निकटवर्तीहरू जम्मा भएर खुशी साट्नु स्वभाविक हुन्छ । दुःखमा पनि सहयोग चाहिने उनीहरूकै हो । तर हामीकहाँ दिन-प्रतिदिन विवाहका भोजहरू सार्वजनिक ब्यक्तित्वहरूले भरिभराउ हुन थालेका छन् । आमसभा हो कि विवाह छुट्याउनै मुस्किल पर्नेगरी आयोजना गरिने यस्ता भोजभतेरले के हुन्छ ? के सन्देश दिन्छ ? भनेर सोच्दा खासै अर्थपूर्ण सन्देश भेटिँदैन ।

राम्ररी अघि बढ्न सक्यो भने विवाह सुन्दर सुन्दर संस्था हो । यस्तो संस्था निर्माण गर्ने क्रमका हाम्रा रीतिरिवाजहरू देखावटी नभएर ब्यवहारिक हुन आवश्यक छ । आफ्ना लागि हुनुपर्ने विवाह अरुका लागि झैँ बन्दै गएका छन् । मलाई उसको छोराको विवाहमा बोलाएको थियो, त्योभन्दा राम्रो गरेर उसलाई मेरो छोरीको विवाहमा बोलाउँछु भन्ने खालको सोचको अन्त्य जबसम्म हुँदैन तबसम्म यस्ता देखावटी ब्यवहारले निरन्तरता पाइरहन्छन् । परिवर्तन आफैबाट सुरु गरौँ ।