राजनीतिको नाममा लूट : जनपङ्क्तिको आत्मघाती चूप !

राजनीतिको नाममा लूट : जनपङ्क्तिको आत्मघाती चूप !


भ्रष्टाचारको स्रोत खराब शासन नै हो । त्यसैले भ्रष्टाचारबाट लाभान्वित वर्गको गिरफ्तबाट शासनको बागडोर नहटेसम्म भ्रष्टाचार नियन्त्रण असम्भव हुन्छ । भ्रष्टाचारीहरू आफै कहिल्यै सच्चिंदैनन्, तिनलाई त राजनीतिको मैदानबाटै लघार्नुपर्छ ।
✍ राजबाबु शंकर

‘राजनीति’ शब्दलाई विग्रह गर्दा ‘राज’ भन्नाले शासनसत्ता हुन्छ भने ‘नीति’ भन्नाले उपयुक्त समयमा समुचित काम गर्ने कौशललाई मानिन्छ । जनहितका लागि खट्नु, सामाजिक स्थायित्व र सदाचार स्थापना गर्न लागिपर्नु, शासन व्यवस्थालाई चुस्त-दुरुस्त र लोककल्याणकारी बनाउनु राजनीतिको धर्म हो । र, राजनीति गर्नेहरूमा स्वस्वार्थभन्दा सामूहिक हितलाई संरक्षण गर्ने गुण हुनु पर्दछ ।

सामान्यतया राजनीतिमा सहभागी त्यस्ता सदाचारी एवम् नैतिकवान पात्रहरूलाई राजनेता वा राजनीतिकर्मी भन्छौँ । तर, हाम्रो देशमा सदाचारीहरूले राष्ट्रका लागि आवश्यक उपयुक्त र योग्य स्थान पाउन सकिरहेका छैनन् । देशमा आर्थिक र नीतिगत भ्रष्टाचार उत्पात छ । शक्ति वा सत्ताको दुरुपयोग गरी अकुत सम्पत्ति हत्याउनु र सार्वजनिक सम्पत्ति हडप गर्नु नेताहरूको आदतजस्तै बनिरहेको दिनैपिच्छे सुन्नमा आइरहेको पनि छ । भ्रष्टाचारकै कारण देशको अर्थतन्त्र सीमित व्यक्तिहरूको कब्जामा परी गरीबी र बेरोजगारी बढ्छ, बढेको छ । र, राष्ट्रिय अर्थतन्त्रलाई मास्दै देश कङ्गाल बनाउन भ्रष्टाचारीहरू उद्यत रहिआएको नतिजा हाम्रासामू छ ।

केही दशकयताको नेपाली राजनीतिमा भ्रष्टाचार प्रबल देखिएर सदाचारी गुण लुप्त वा अवमूल्यन हुँदै गएको छ । मूल परिदृश्यमा रहेका पात्रहरूका क्रियाकलापले राजनीति र भ्रष्टाचार पर्यायवाची जस्तै लाग्छन् । नेपालका पछिल्ला घटनाक्रमलाई मीमांशा गर्दा भ्रष्टाचारजन्य गतिविधिमा राजनीतिक संलग्नता अथवा संरक्षण देखिन्छ । भ्रष्टाचारका कतिपय घटनाहरू मिलेमतोमा नै हुने गर्दछन्, तर जब भ्रष्टाचारीहरू बीच भागबण्डा मिल्दैन, तब त्यस्ता प्रकरण सतहमा आउने गरेका पाइन्छन् । देशको ढुकुटी तिनैले रित्याइरहेका छन् ।

समुद्रमा पाइने एक प्राणी जेलिफिसले यदाकदा शंखेकीरालाई पनि आहारा बनाउँछ । आफ्नो कवचभित्र बस्ने शंखेकीरा त्यो माछाको पेटभित्र पनि बाँचिरहेको हुन्छ । पेटभित्र रहँदा पनि उसले शंखबाट मुख बाहिर निकालेर जेलिफिसको सम्पूर्ण शरीरलाई भित्रभित्रै खाएर आफू भने हुर्कंदै जान्छ । ठीक त्यसैगरी यस देशका भ्रष्टाचारीहरूले पनि शंखेकीराले झैं यो राष्ट्रलाई खाँदै गएका छन् । भ्रष्टाचार व्याप्त मुलुकमा राष्ट्रियता र राष्ट्रिय सुरक्षा कमजोर हुन जान्छ । देश भ्रष्टाचारी, कमिशनखोर, तस्कर, माफिया र आतंकवादीहरूको सुरक्षित हब वा ट्रान्जिट बन्न पुग्दछ ।

त्यसो त राजनीतिक प्रणाली र भ्रष्टाचारबीच प्रत्यक्ष सम्बन्ध छैन । र, भ्रष्टाचार निर्मूलनका निम्ति कुनै राजनीतिक व्यवस्था पर्खिरहनु पनि पर्दैन । सुशासनप्रतिको दृढ इच्छाशक्ति र तद्नुरुप दलीय/निर्दलीय, एकदलीय/बहुदलीय जुनसुकै खाले आस्थाका नेतृत्व भए पनि उसको चट्टानी पहलले भ्रष्टाचार तथा अन्यायको स्रोत मासिन्छ । भ्रष्टाचारको स्रोत खराब शासन नै हो । त्यसैले भ्रष्टाचारबाट लाभान्वित वर्गको गिरफ्तबाट शासनको बागडोर नहटेसम्म भ्रष्टाचार नियन्त्रण असम्भव हुन्छ । भ्रष्टाचारीहरू आफै कहिल्यै सच्चिंदैनन्, तिनलाई त राजनीतिको मैदानबाटै लघार्नुपर्छ ।

देशद्रोही र बेइमानहरूले शासन चलाएको मुलुक स्वतन्त्र हुनै सक्दैन- आम नेपालीले महसूस गरेको सत्य यो पनि हुँदै हो । त्यसैले सोच्ने/गम्ने समय आइसकेको छ- राष्ट्र नै नागरिकको पहिचान हो । र, त्यो पहिचानका खातिर राष्ट्र जीवन्त, स्वतन्त्र र समुन्नत हुनै पर्दछ । त्यसका लागि कडा प्रतिवाद र सख्त प्रतिकार हुन जरुरी छ ।

भ्रष्टाचारले केसम्म गर्न सक्छ, एउटा उदाहरण यहाँ चर्चा गरौं- सन् १९९३ मा इण्डियाको मुम्बईमा भएको भयानक बम विष्फोटमा परी करीब ३ सय निर्दोष मानिसको ज्यान गएको थियो । त्यहाँ जसले विष्फोट गराएका थिए, ती आतंकवादी माफियाहरूले सामुद्रिक बन्दरगाह रहेको त्यहाँको भन्सार अधिकृतलाई २० लाख रुपैयाँ घुस दिएर शक्तिशाली विष्फोटक पदार्थ आरडीएक्स भित्र्याएको अनुसन्धानबाट पत्ता लागेको थियो । अर्थात्, भ्रष्टाचारीहरू जे पनि र जस्तोसुकै शैतानी कुकर्म गर्न पनि पछि पर्दैनन् भन्ने त्यो एउटा दसी हो । नेपालमा पनि विभिन्न समयसन्दर्भमा शस्त्रास्त्र र विष्फोटक पदार्थ तस्करीबाटै भित्रिने गरेको मानिन्छ ।

यहाँ पनि वर्षेनी अर्बौं-खर्बौं रुपैयाँको हजारौं टन रक्तचन्दन, लागूपदार्थ तस्करी लगायतका अवैध कारोबार दशकौंदेखि चलायमान रहेको भन्ने गरिन्छ । वैदेशिक रोजगारीमा लूट, सहकारीको लूट, बैंकहरूको लूट, सार्वजनिक खरीद ठेक्कामा भ्रष्ट नेता/कर्मचारीहरूद्वारा कमिशन लूट, सरकारी जग्गा लूट, सरुवा-बढुवामा लूट जस्ता अनेकानेक लूट-धन्दाहरूमा राजनीतिकर्मी, सुरक्षा अधिकारी, कर्मचारी, उद्योगी-व्यापारी नै मतियार नभइकन सम्भव पनि छैन । अनि त्यस्ता भ्रष्ट, पतित र नैतिकहराम कुपात्रहरू शासन-प्रशासनमा रहिरहेसम्म यस देशको भविष्य त सुरक्षित छँदैछैन, वर्तमान पनि धरापमा परिसकेको छ ।

यी तमाम कारणहरूले मुलुकभित्रका राजनीतिक नेताहरू चरम भ्रष्ट र तीमध्ये कतिपयको मुलुकप्रतिको बफादारीमा समेत शंका गर्ने जनमानसको आकार बढ्दो छ । यस मामिलामा केही नेतागण त सर्वांग नांगै भइसकेका छन् । आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई सहज प्रवेश दिने गणतान्त्रिक नेताहरूले मुलुकभित्रै समस्याको समाधान खोज्ने नैतिकता र साहस आजसम्म राखेका छैनन् पनि । राजनीतिक नेतृत्व नेपाली जनताप्रति जवाफदेही नहुनु भनेको तिनको बफादारीको निर्वस्त्रीकरण नै हो । अहिलेलाई यी समस्त प्रकरणहरूलाई यसरी नै बुझ्नु यथेष्ट हुने छ ।

विगत २० वर्षदेखि लगातार अतिभ्रष्ट मुलुकको श्रेणीमा जाक्दै आएका भ्रष्टाचारका संरक्षक शासक-प्रशासक देशद्रोही हुन् । व्यक्तिगत लाभका लालची त्यस्ता देशद्रोही विरुद्ध सक्रिय प्रतिवाद र प्रतिकार नगर्नेहरू पनि कायर हुन् । देशद्रोही र बेइमानहरूले शासन चलाएको मुलुक स्वतन्त्र हुनै सक्दैन- आम नेपालीले महसूस गरेको सत्य यो पनि हुँदै हो । त्यसैले सोच्ने/गम्ने समय आइसकेको छ- राष्ट्र नै नागरिकको पहिचान हो । र, त्यो पहिचानका खातिर राष्ट्र जीवन्त, स्वतन्त्र र समुन्नत हुनै पर्दछ । त्यसका लागि कडा प्रतिवाद र सख्त प्रतिकार हुन जरुरी छ । अब पनि समय खेर फाल्नु यस देशका नागरिकको दुर्दिन नजिकिनुको कारण बन्नु हो । कविवर धरणीधरका पंक्ति सम्झौँ-

जाग जाग अब जाग न जाग ।
फालिदेउ डरको अब थैलो ।
घेर नीद अब ता परित्यागौँ ।
जाग, जाग, अब त जाग ।