नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन

नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन


  • विशेष प्रतिनिधि, कपिलवस्तु

हिन्दुवादी अगुवाहरुले तौलिहवामा धर्मनिरपेक्षताको विरोध गर्दै नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । विश्व हिन्दु महासंघ नेपालको लुम्बिनी प्रदेश अधिवेशनको अवसरमा तौलिहवामा हिन्दुवादी अगुवाहरुले प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चोकअगाडि जम्मा भइ हिन्दुवादी अगुवाहरुले धर्मनिरपेक्षताको विरोध जनाएका हुन् । विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय अध्यक्ष रामचन्द्र अधिकारी, पुर्वमन्त्री दीपकुमार उपाध्याय, पुर्वसांसद शंकर पाण्डेलगायतका हिन्दुवादी नेताहरुको नेतृत्वमा प्रदर्शनमा उत्रिएका हिन्दु राष्ट्र सर्थकहरुले तौलिहवा बजारको नयाँटोल, गौढी चोक, चोकबजार, जिल्ला प्रशासन कार्यालय चोक लगायतका स्थानमा नारावाजी गर्दै हिन्दु राष्ट् स्थापनाका लागि घर घरबाट सडक संघर्षमा निस्कन आग्रह गरेको विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य तथा कार्यक्रम आयोजक मुल समितिका संयोजक डा. कालीपद शर्मा जोनसोनले बताए ।

पश्चिमी राष्ट्हरुको प्रभावमा परेर नेपाली जनताको चाहनाविपरीत संविधानमा धर्मनिरपेक्षता लादिएको पुर्वमन्त्री दीपकुमार उपाध्यायले बताए । सबैवर्ग धर्म समुदायलाई संरक्षण गर्दै नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्नेमा नेता उपाध्यायले जोड दिए ।

नेपाली कांग्रेसको महासमिति बैठकमै जोडदारका रुपमा सनातन हिन्दु राष्ट्र स्थापनाको एजेण्डाले स्थान पाएजस्तै अब हरेक राजनैतिक दलभित्र यस विषयले प्राथमिकता पाउँदै जाने नेता उपाध्यायले जिकिर गरे ।

सो अवसरमा विश्व हिन्दु महासंघको प्रदेश अधिवेशनले वरिष्ठ अधिवक्ता वेनबहादुर पौडेलको अध्यक्षतामा ८ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरियो ।

कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सक्रिय भइ काम गरेको भन्दै कार्यक्रम संयोजक डा. कालीपद शर्मा जोनसोनलाई सम्मानसमेत गरिएको छ ।