एक सय चौध प्रहरीले प्राप्त गरे युक्ति सीप

एक सय चौध प्रहरीले प्राप्त गरे युक्ति सीप


नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले समापनमा सम्बोधन गर्दै नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीलाई बधाई दिए । प्रहरीले सामना गर्नुपर्ने विविध चुनौति र समस्या मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पु¥याएको उल्लेखनीय योगदानको सराहना आइजीपी कुँवरले गरे ।

प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गर्दै तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उनको बुझाइ छ ।

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिए । कार्यक्रममा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।