१२ किलो चरेससहित दुई भारतीय र एक नेपाली पक्राउ

१२ किलो चरेससहित दुई भारतीय र एक नेपाली पक्राउ


पर्सा प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ । बरामद गरिएको चरेस नेपालबाट भारत निकासीको तयारीमा रहेको थियो । एक नेपाली नागरिकलाई माध्यम बनाएर नेपालबाट भारत चरेस निकासी हुने तयारी भइरहेको बेला बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोक सडकखण्डमा प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आवतजावत गर्ने सवारीसाधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा एक जना व्यक्ति शंकास्पद रूपमा भारतबाट नेपालतर्फ आउँदै गरेको देखियो । भारत बिहार जिल्ला सिवान बस्ने वर्ष २४ को महमद आलमलाई खानतलासी गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली २ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।

अनुसन्धानका क्रममा उनले त्यो रकम चरेस खरिद गर्न ल्याएको खुल्यो । अनि वीरगञ्ज महानगरपालिका-८ नारायणी गेष्ट हाउसबाट धादिङ गजुरी-८ बस्ने वर्ष २९ को सुरेश तामाङ र भारत बिहार जिल्ला सिवान बस्ने वर्ष २२ को आरिफ राजालाई चरेश १२ किलो २ सय ४० ग्रामसहित नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।