राजा ज्ञानेन्द्रका सल्लाहकारका रुपमा रहेका ग्याङ अफ फोरको गलत सल्लाहले २०१७ साल पुस १ जस्तै गरि २०६१ माघ १९ को घोषणा भयो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विघटन गर्दै दलहरु माथि प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि तुल्सी गिरी जस्ता ब्यक्तिलाई सत्तामा ल्याउनु नै राजाको ठूलो गल्ती भयो ।
✍ सुनिलकुमार उलक

तत्कालिन समयका युवराज महेन्द्र तथा युवराज्ञी इन्द्र राज्यलक्ष्मीको माहिला सुपुत्रका रुपमा वि.सं. २००४ आषाढ कृष्ण चतुर्थी सोमबार तदनुसार असार २३ गते राति अधिराजकुमार ज्ञानेन्द्र शाहको जन्म भएको थियो । वहाँ जन्मनुभएको दुई वर्ष नहुँदै भाइ धिरेन्द्र शाहको जन्मको समय अत्यधिक रक्तश्राव भएर आमा इन्द्र राज्य लक्ष्मीको देहावसान भएको थियो । चिनामा पारिवारिक दोष देखिएका कारण वहाँलाई मामाघर (हरिशमशेरको दरबार) हरि भवनमा राखिएको थियो ।
देशमा भएको परिवर्तनको लहरसँगै राजा त्रिभुवनलगायत राजपरिवारका सदस्यहरुले दरबार त्याग गरि वि.सं. २००७ कार्तिक २२ गते भारतीय राजदूतावासमा शरण लिन पुगे । यसको केही दिनमा दिल्लीतर्फ पुगे । राजा परिवारको दिल्ली प्रस्थानले अत्तालिएका तत्कालिन समयका श्री ३ मोहन शमशेरलाई बालक ज्ञानेन्द्रका मामाबाजे हरिशमशेरले नातिराजा आफूसँग रहेको जानकारी दिएपछि राज परम्पराअनुसार राजा हुने सम्भावना नै नभएका तत्कालिन समयमा ती ३ वर्ष ४ महिनाको बाल्य उमेरका बालक ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरि राज्यारोहण समेत गराइदिए । संयोग या भाग्यले भनौँ ती बालक पनि राजा भए ।
यता राजा, राणा र नेहरुबीच निकै लामो वार्तालापपछि राजपरिवारका सम्पूर्ण सदस्यहरु फागुन ४ गते नेपाल फर्कनुभयो । यसबीचमा वि.सं. २००७ कार्तिक २२ देखि २००७ पौष २३ गते सम्म बालक ज्ञानेन्द्रले नेपालको राजा हुने अवसर पाउनुभएको थियो । सो समय वहाँको नाममा सिक्कासमेत निस्काशन भएको थियो । साथै श्रीपेच लगाइएका तस्बिरहरु पनि निकै देख्न सकिन्छ । यो बाल्यकालको राजकाजमा उहाँको खासै महत्व नै थिएन । राजा भनियो, बनाइयो र राजा बन्नुभयो । यसले जीवनमा कुनै ठूलो उपलब्धि वा परिवर्तन भने भएन ।
सानैमा आमाको देहावशान तथा कान्छीमुमा रत्न राज्यलक्ष्मीको आगमनपछि परिवारका ६ जना दाजुभाइ तथा दिदीबहिनी नै दार्जिलिङमा अध्ययनका लागि राखियो । तीनै छोराहरुलाई दार्जिलिङको नर्थ प्वाइन्ट स्कुलका नामले प्रख्यात सेन्ट जोसेफ स्कुलमा पढाउनुभएको थियो । भने तीन छोरीलाई दार्जिलिङकै लोरेटो कन्वेन्ट स्कुलमा पढाउनुभएको थियो । दरबारका छोरीहरु भएको हुँदा पनि छात्र र छात्राहरु संगै पढ्ने स्कुल नरोजिएर छात्राहरु मात्र पढ्ने स्कुलमा भर्ना गरिएको थियो । यसरी छोराछोरीलाई भेट्न दार्जिलिङ गइरहनु पर्दा दार्जिलिङको थुप्रै नेपालीभाषीहरुको कार्यक्रममा सहभागी हुने सौभाग्य पाउनुभएको थियो । दार्जिलिङको चौरस्तामा पहिलोपटक राखिएको भानुभक्तको शालिक अनावरण होस् वा दार्जिलिङको भानुभक्त स्कुलको समुद्घाटन कार्यक्रम होस् – राजा महेन्द्रको उपस्थिति रह्यो । यही निकटताले गर्दा नै दार्जिलिङबाट थुप्रै प्रतिभालाई पनि नेपालसम्म ल्याउनुभयो ।
दार्जिलिङको अध्ययन क्रममा सेन्ट जोसेफ स्कुलपछि ज्ञानेन्द्र शाहले सेन्ट जोसेफ कलेजबाट सिनियर क्याम्ब्रिज अध्ययन पुरा गरि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्नुभयो । त्यहाँबाट पून नेपालकै त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक अध्ययन पुरा गर्नुभयो ।
दाजु राजा हुँदा केही ब्यापारिक संस्थाहरुमा साझेदारीका साथ साथ महेन्द्र प्रकृति संरक्षण कोषसंग पनि आबद्ध रहनुभयो । यस्तैमा दरबारभित्र अकल्पनिय घटना घट्यो । २०५८ जेठ १९ गते दरवार भित्र भएको आमहत्यामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र लगायत परिवारका १० सदस्यहरुको निधन भयो । सो समय दुर्घटना हुने बारेमा केही पूर्व सूचना पाएका कारण पोखरा भ्रमणमा रहेका कारण वहाँ बाँच्न सफल हुनुभयो । सो राति युवराज दिपेन्द्रले रात्रीभोजमा सहभागी हुन राति ७ बजेसम्म पनि हेलिकोप्टरमा तत्काल आउन बोलाएका थिए । तर शायद हुन लागेको भवितव्यको आगाह पाएकै कारणले फर्कन चाहेनन् । र, वहाँ बाँच्नुभयो । हुन त अर्को पक्षले यस अकल्पनिय घटनाका दोषीका रुपमा पनि वहाँलाई पनि मुछ्ने प्रयास गरेको पाइन्छ । तर दरबारका निकटजनहरुको भनाइमा एक वर्षअगाडि देखि नै प्रयास भइरहेको भन्ने सुनिन्छ । राजा वीरेन्द्र स्वयंले पनि आफ्ना नीजि सचिवलाई आफ्नो हत्या गर्ने षडयन्त्र भइरहेको तथा कुनै पनि समय कुनै पनि दुर्घटना हुन सक्ने जानकारी दिएका थिए भनिन्छ ।
नेपालको इतिहासको एक अकल्पनिय घटनामा राजा वीरेन्द्रको बंश नाश भएपछि वि.सं. २०५८ जेष्ठ २२ पून ज्ञानेन्द्रको काँधमा देशको जिम्मेवारी बहन गर्ने समय आयो । जसले गर्दा दोश्रो पटक फेरि राजा बन्ने सौभाग्य पाउनुभयो । राज्य सञ्चालन गर्दा सल्लाहकारहरुको टोली राख्नुपर्दछ । तर सो सल्लाहकारहरु गलत भइदिए, देश अर्को दुर्घटना पर्न सक्छ । राजा ज्ञानेन्द्रका सल्लाहकारका रुपमा रहेका ग्याङ अफ फोरको गलत सल्लाहले २०१७ साल पुस १ जस्तै गरि २०६१ माघ १९ को घोषणा भयो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विघटन गर्दै दलहरु माथि प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि तुल्सी गिरी जस्ता ब्यक्तिलाई सत्तामा ल्याउनु नै राजाको ठूलो गल्ती भयो ।
माघ १९ को घटनाले दलहरु सबै एक भए । देशमा विध्वंश मच्चाइरहेका माओवादीहरु पनि तिनै टाउकाको मोल तोक्ने दलहरुका साथ लागे । जसले गर्दा दोश्रो जनआन्दोलन भयो । देशमा परिवर्तनको सपना देखेका युवाहरुको साथले आन्दोलन सफल भएपछि राजाले विघटन गरेको संसद् पूनर्स्थापना भयो । यसपछि देशले परिवर्तनका नाममा धेरै कुरा पाए धेरै कुरा गुमाए । देशले विश्वको एकमात्र हिन्दू राष्ट्रको गरिमा पनि गुमायो र राजतन्त्र पनि समाप्त गर्दै गणतन्त्रको घोषणा भयो । देशमा गणतन्त्रको घोषणा संगै २०६५ जेष्ठ १५ देखि राजा ज्ञानेन्द्र पनि आम नेपाली नागरिक सरहमा परिवर्तित हुनुभयो ।
देशमा राजतन्त्र फर्कनै पर्छ भन्नु भन्दा देश बुझ्ने सत्तामा पुग्नुपर्दछ । दल बुझ्ने र दलीय स्वार्थ र पदीय स्वार्थमा लाग्ने नेतृत्वमा पुगेभने देशले पुनः धोखा खान्छ । २०८२ भदौ २३ र २४ को घटना पछि देशमा दलका पुराना नेताहरु माथि वितृष्णा देखाएको छ । सत्तामा पुगेको नयाँ दलमा पनि नयाँ प्रवेशीहरुको लहरमा पुनः तिनै दलका भँडुवाहरु देखिन थालेको छ । या त नयाँ दलले अन्य दलमा रही राजनीति गरेकाहरुलाई आफ्नो दलमा प्रवेशमा पूर्णरुपमा रोक लगाउनु पर्दछ । अन्यथा यी रक्तविजहरुले यो नयाँ दलको हविगत पनि उस्तै बनाउँछ । देशमा सुशासनको आबश्यकता सबैभन्दा बढि रहेको छ । जनतामा शान्तिसँग बाँच्न पाउने अधिकार र बोल्ने पाउने अधिकारको प्रत्याभूति हुनु जरुरी छ । हामीलाई सत्तामा को आए भन्नुभन्दा कसले हाम्रा लागि हकहितका काम गर्दछन् भन्ने महत्वपूर्ण छ ।
शाही राजपरिवारमा धेरै वर्ष बाँच्ने राजा वहाँ नै हुनुहुन्छ । वहाँको स्वस्थ्य जीवनको हार्दिक शुभकामना ।
प्रतिक्रिया