७९ वर्षअघि आजकै दिनको राति जन्मनुभएका ज्ञानेन्द्र शाह

७९ वर्षअघि आजकै दिनको राति जन्मनुभएका ज्ञानेन्द्र शाह


तत्कालिन समयका युवराज महेन्द्र तथा युवराज्ञी इन्द्र राज्यलक्ष्मीको माहिला सुपुत्रका रुपमा वि.सं. २००४ आषाढ कृष्ण चतुर्थी सोमबार तदनुसार असार २३ गते राति अधिराजकुमार ज्ञानेन्द्र शाहको जन्म भएको थियो । वहाँ जन्मनुभएको दुई वर्ष नहुँदै भाइ धिरेन्द्र शाहको जन्मको समय अत्यधिक रक्तश्राव भएर आमा इन्द्र राज्य लक्ष्मीको देहावसान भएको थियो । चिनामा पारिवारिक दोष देखिएका कारण वहाँलाई मामाघर (हरिशमशेरको दरबार) हरि भवनमा राखिएको थियो ।

देशमा भएको परिवर्तनको लहरसँगै राजा त्रिभुवनलगायत राजपरिवारका सदस्यहरुले दरबार त्याग गरि वि.सं. २००७ कार्तिक २२ गते भारतीय राजदूतावासमा शरण लिन पुगे । यसको केही दिनमा दिल्लीतर्फ पुगे । राजा परिवारको दिल्ली प्रस्थानले अत्तालिएका तत्कालिन समयका श्री ३ मोहन शमशेरलाई बालक ज्ञानेन्द्रका मामाबाजे हरिशमशेरले नातिराजा आफूसँग रहेको जानकारी दिएपछि राज परम्पराअनुसार राजा हुने सम्भावना नै नभएका तत्कालिन समयमा ती ३ वर्ष ४ महिनाको बाल्य उमेरका बालक ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरि राज्यारोहण समेत गराइदिए । संयोग या भाग्यले भनौँ ती बालक पनि राजा भए ।

यता राजा, राणा र नेहरुबीच निकै लामो वार्तालापपछि राजपरिवारका सम्पूर्ण सदस्यहरु फागुन ४ गते नेपाल फर्कनुभयो । यसबीचमा वि.सं. २००७ कार्तिक २२ देखि २००७ पौष २३ गते सम्म बालक ज्ञानेन्द्रले नेपालको राजा हुने अवसर पाउनुभएको थियो । सो समय वहाँको नाममा सिक्कासमेत निस्काशन भएको थियो । साथै श्रीपेच लगाइएका तस्बिरहरु पनि निकै देख्न सकिन्छ । यो बाल्यकालको राजकाजमा उहाँको खासै महत्व नै थिएन । राजा भनियो, बनाइयो र राजा बन्नुभयो । यसले जीवनमा कुनै ठूलो उपलब्धि वा परिवर्तन भने भएन ।

सानैमा आमाको देहावशान तथा कान्छीमुमा रत्न राज्यलक्ष्मीको आगमनपछि परिवारका ६ जना दाजुभाइ तथा दिदीबहिनी नै दार्जिलिङमा अध्ययनका लागि राखियो । तीनै छोराहरुलाई दार्जिलिङको नर्थ प्वाइन्ट स्कुलका नामले प्रख्यात सेन्ट जोसेफ स्कुलमा पढाउनुभएको थियो । भने तीन छोरीलाई दार्जिलिङकै लोरेटो कन्वेन्ट स्कुलमा पढाउनुभएको थियो । दरबारका छोरीहरु भएको हुँदा पनि छात्र र छात्राहरु संगै पढ्ने स्कुल नरोजिएर छात्राहरु मात्र पढ्ने स्कुलमा भर्ना गरिएको थियो । यसरी छोराछोरीलाई भेट्न दार्जिलिङ गइरहनु पर्दा दार्जिलिङको थुप्रै नेपालीभाषीहरुको कार्यक्रममा सहभागी हुने सौभाग्य पाउनुभएको थियो । दार्जिलिङको चौरस्तामा पहिलोपटक राखिएको भानुभक्तको शालिक अनावरण होस् वा दार्जिलिङको भानुभक्त स्कुलको समुद्घाटन कार्यक्रम होस् – राजा महेन्द्रको उपस्थिति रह्यो । यही निकटताले गर्दा नै दार्जिलिङबाट थुप्रै प्रतिभालाई पनि नेपालसम्म ल्याउनुभयो ।

दार्जिलिङको अध्ययन क्रममा सेन्ट जोसेफ स्कुलपछि ज्ञानेन्द्र शाहले सेन्ट जोसेफ कलेजबाट सिनियर क्याम्ब्रिज अध्ययन पुरा गरि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्नुभयो । त्यहाँबाट पून नेपालकै त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक अध्ययन पुरा गर्नुभयो ।

दाजु राजा हुँदा केही ब्यापारिक संस्थाहरुमा साझेदारीका साथ साथ महेन्द्र प्रकृति संरक्षण कोषसंग पनि आबद्ध रहनुभयो । यस्तैमा दरबारभित्र अकल्पनिय घटना घट्यो । २०५८ जेठ १९ गते दरवार भित्र भएको आमहत्यामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र लगायत परिवारका १० सदस्यहरुको निधन भयो । सो समय दुर्घटना हुने बारेमा केही पूर्व सूचना पाएका कारण पोखरा भ्रमणमा रहेका कारण वहाँ बाँच्न सफल हुनुभयो । सो राति युवराज दिपेन्द्रले रात्रीभोजमा सहभागी हुन राति ७ बजेसम्म पनि हेलिकोप्टरमा तत्काल आउन बोलाएका थिए । तर शायद हुन लागेको भवितव्यको आगाह पाएकै कारणले फर्कन चाहेनन् । र, वहाँ बाँच्नुभयो । हुन त अर्को पक्षले यस अकल्पनिय घटनाका दोषीका रुपमा पनि वहाँलाई पनि मुछ्ने प्रयास गरेको पाइन्छ । तर दरबारका निकटजनहरुको भनाइमा एक वर्षअगाडि देखि नै प्रयास भइरहेको भन्ने सुनिन्छ । राजा वीरेन्द्र स्वयंले पनि आफ्ना नीजि सचिवलाई आफ्नो हत्या गर्ने षडयन्त्र भइरहेको तथा कुनै पनि समय कुनै पनि दुर्घटना हुन सक्ने जानकारी दिएका थिए भनिन्छ ।

नेपालको इतिहासको एक अकल्पनिय घटनामा राजा वीरेन्द्रको बंश नाश भएपछि वि.सं. २०५८ जेष्ठ २२ पून ज्ञानेन्द्रको काँधमा देशको जिम्मेवारी बहन गर्ने समय आयो । जसले गर्दा दोश्रो पटक फेरि राजा बन्ने सौभाग्य पाउनुभयो । राज्य सञ्चालन गर्दा सल्लाहकारहरुको टोली राख्नुपर्दछ । तर सो सल्लाहकारहरु गलत भइदिए, देश अर्को दुर्घटना पर्न सक्छ । राजा ज्ञानेन्द्रका सल्लाहकारका रुपमा रहेका ग्याङ अफ फोरको गलत सल्लाहले २०१७ साल पुस १ जस्तै गरि २०६१ माघ १९ को घोषणा भयो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विघटन गर्दै दलहरु माथि प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि तुल्सी गिरी जस्ता ब्यक्तिलाई सत्तामा ल्याउनु नै राजाको ठूलो गल्ती भयो ।

माघ १९ को घटनाले दलहरु सबै एक भए । देशमा विध्वंश मच्चाइरहेका माओवादीहरु पनि तिनै टाउकाको मोल तोक्ने दलहरुका साथ लागे । जसले गर्दा दोश्रो जनआन्दोलन भयो । देशमा परिवर्तनको सपना देखेका युवाहरुको साथले आन्दोलन सफल भएपछि राजाले विघटन गरेको संसद् पूनर्स्थापना भयो । यसपछि देशले परिवर्तनका नाममा धेरै कुरा पाए धेरै कुरा गुमाए । देशले विश्वको एकमात्र हिन्दू राष्ट्रको गरिमा पनि गुमायो र राजतन्त्र पनि समाप्त गर्दै गणतन्त्रको घोषणा भयो । देशमा गणतन्त्रको घोषणा संगै २०६५ जेष्ठ १५ देखि राजा ज्ञानेन्द्र पनि आम नेपाली नागरिक सरहमा परिवर्तित हुनुभयो ।

देशमा राजतन्त्र फर्कनै पर्छ भन्नु भन्दा देश बुझ्ने सत्तामा पुग्नुपर्दछ । दल बुझ्ने र दलीय स्वार्थ र पदीय स्वार्थमा लाग्ने नेतृत्वमा पुगेभने देशले पुनः धोखा खान्छ । २०८२ भदौ २३ र २४ को घटना पछि देशमा दलका पुराना नेताहरु माथि वितृष्णा देखाएको छ । सत्तामा पुगेको नयाँ दलमा पनि नयाँ प्रवेशीहरुको लहरमा पुनः तिनै दलका भँडुवाहरु देखिन थालेको छ । या त नयाँ दलले अन्य दलमा रही राजनीति गरेकाहरुलाई आफ्नो दलमा प्रवेशमा पूर्णरुपमा रोक लगाउनु पर्दछ । अन्यथा यी रक्तविजहरुले यो नयाँ दलको हविगत पनि उस्तै बनाउँछ । देशमा सुशासनको आबश्यकता सबैभन्दा बढि रहेको छ । जनतामा शान्तिसँग बाँच्न पाउने अधिकार र बोल्ने पाउने अधिकारको प्रत्याभूति हुनु जरुरी छ । हामीलाई सत्तामा को आए भन्नुभन्दा कसले हाम्रा लागि हकहितका काम गर्दछन् भन्ने महत्वपूर्ण छ ।

शाही राजपरिवारमा धेरै वर्ष बाँच्ने राजा वहाँ नै हुनुहुन्छ । वहाँको स्वस्थ्य जीवनको हार्दिक शुभकामना ।