ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल


राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।

गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् । ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।

छलफलका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी भइरहेको उल्लेख गर्दै भनेका छन्, ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छौँ ।’ व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयबासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने उनले जनाएका छन् । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उनको भनाइ थियो ।

अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने र, व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाइ थियो ।

छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको जानकारी दिँदै भने, ‘परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा पटकपटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ ।’

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त भएको तर्क गर्दै दरबार मार्गलाई २४सै घण्टा खुला गरी ‘नाइट वाक’ क्षेत्र बनाउन आवश्यक रहेकोमा जोड दिए ।