चोरिएर फेलापरेका बीस मोटरसाइकल/स्कुटर धनीलाई जिम्मा

चोरिएर फेलापरेका बीस मोटरसाइकल/स्कुटर धनीलाई जिम्मा


चोरी भएर फेला परेका २० वटा दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

विभिन्न मितिमा हराएका दुइपाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलबार सम्बन्धित धनीलाई जिम्मा दिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

ट्राफिक प्रहरीमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमतीलगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको प्रवक्ता एसएसपी श्रेष्ठले जानकारी दिए ।

सवारी धनीलाई मंगलबार बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाएको छ । चालु आर्थिक वर्षको हालसम्म चोरीका २६ वटा सवारी साधनसहित संलग्न २९ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरी जनाउँछ ।