झुम्का कारागारभित्र कैदी ‘न्यायाधीश’को मृत्यु

झुम्का कारागारभित्र कैदी ‘न्यायाधीश’को मृत्यु


सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भइ हाल इटहरी उपमहानगरपालिका-४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो ।

कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृतक न्यायधीशका दाइ सुभाष राईले माग गरे । यस्तै, न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईको दाबी छ ।

कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख ध्रुवराज कोइरालाको जिकिर छ । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनले बताएका छन् ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको बताएकी छन् भने पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने, शव पनि नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।