प्रसाईंद्वारा तस्करको फोटो सार्वजनिक गर्ने चेतावनी

प्रसाईंद्वारा तस्करको फोटो सार्वजनिक गर्ने चेतावनी


‘सात दिनभित्र फिर्ता नगरे मुद्धा हाल्ने’

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशका तस्करहरुको फोटो सार्वजनिक गर्ने पुनः चेतावनी दिएका छन् । कहिले माओवादी त कहिले एमाले हुँदै पछिल्लो समय राजावादी बनेका उनले झापाबाट आइतबार राजधानी आएपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘तस्करहरुको फोटो सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिने छैन ।’ उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फोटो सार्वजनिक नगर्न दबाब दिएको दाबी पनि गरेका छन् ।

फोटो सार्वजनिक नगर्न गृहमन्त्रीले भनेको तर फोटो सार्वजनिक गरेरै छोड्छु, यो चुनौती हो, उनले भने, ‘तस्करको फोटो सार्वजनिक गर्छु ।’ प्रसाईं यही चैत २२ गते जुम्ला, र २४ गते दाङ पुगेर कार्यक्रम गर्ने तयारीमा छन् ।

उनले जफत गरिएको आफ्नो हतियार लाइसन्सप्राप्त भएकोले सात दिनभित्र फिर्ता नगरे मुद्धा हाल्ने पनि बताएका छन् ।