कास्की भदौरेमा जीप दुर्घटना, दुई जनाको मृत्यु

कास्की भदौरेमा जीप दुर्घटना, दुई जनाको मृत्यु


कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका-२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घाइते पाँच जनाको मणिपालमा र पाँचजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो ।

घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।