हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ


हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका-३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका-७, घर भई मलङ्गवा नगरपालिका-९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका-९ बाट रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु. नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा रु एक हजार दरका एक हजार चार सय ५४ थान, रु पाँच सय दरका छ सय २२ थान, रु एक सय दरका एक सय नौ थान, रु ५० को एक थान र रु २० को एक थान नेपाली नोट बरामद गरेको हो ।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको एस्पी ज्ञवालीको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।