श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


आफ्नै श्रीमती ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दीपक लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

दीपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ

नावालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका २३ वर्षीय नविनकुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविनकुमारलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट एक जना बालिकाको प्रहरीले उद्दार गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मकाउ पठाउने भन्दै ठगी गर्ने पक्राउ

मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको हो ।