मन्त्री बुढा र मेयर बालेन शाहबीच भेट : फोहोरा व्यवस्थापनमा सहकार्य

मन्त्री बुढा र मेयर बालेन शाहबीच भेट : फोहोरा व्यवस्थापनमा सहकार्य


नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा शहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भएको छ ।

मन्त्री बुढा र मेयर शाहबीच मंगलबार सिहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो ।

तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडाबाट शुन्य फोहोर कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।

भेटमा मेयर शाहले बन्चरेडाडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए । मन्त्री बुढाले बन्चरेडाडामा जाने फोहरको परिमाणलाई कम गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे ।

मन्त्रालय मातहत निकायबाट काठमाडौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसँग सुझाव समेत मागे । ‘संघिय सरकार स्थायित्व यहाँलाई थाहा नै छ, तर स्थानीय सरकारले आफ्नो पूरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाडौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ’ उनले भने ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।’

जवाफमा मेयर शाहले काठमाडौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाडौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफूले नदेखेका भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।

छलफलमा मेयर बालेनले काठमाडां उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा पलाइओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने बताए । छलफलमा मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत छलफलमा सहभागी भएका थिए ।