हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ


हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका-१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् ।

विशेष सूचनाका आधारमा भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर आइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले विश्रामपुर गाउँपालिका-४ मुसहर्वास्थित सडकबाट नगदसहित पटेललाई पक्राउ गरेको जिल्ला प्रहरीका प्रवक्ता दधीराम न्यौपानेले बताए ।

पटेल सवार २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । पटेलको बयानका आधारमा आरके मनी चेन्जर बरियारपुरका सञ्चालक रमेश कुसवाहा पक्राउ परेका हुन् ।

बरामद भएको पैसा कुसवाहाको रहेको बताइएको छ । पक्राउ परेका व्यक्तिले पछिल्लो दुई दिनमा करिब आठ करोड रकम हुण्डी कारोबारमार्फत नेपाल भित्र्याएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । हुण्डी कारोबारमा संलग्न अरुको पनि खोजतलास भइरहेको उनको भनाइ छ ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।