रामहरि श्रेष्ठको हत्या-अभियुक्त कालीबहादुर खाममगरलाई चितवन लगियो

रामहरि श्रेष्ठको हत्या-अभियुक्त कालीबहादुर खाममगरलाई चितवन लगियो


अपहरण एवम् हत्याको चर्चित मामलासँग जोडिएका माओवादी नेता कालीबहादुर खाममगरलाई पक्राउपछि चितवन लगिएको छ । कथित जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूर्वीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका-६ हुकाम घर भएका ५० वर्षीय खाम काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाममगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मङ्गलबार साँझ पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खाममगरसहितविरुद्ध काठमाडौं कोटेश्वर निवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएको आधारमा प्रहरीले खाममगरको खोजी जारी राखेको थियो ।