ठमेलमा अब गति सीमित, ‘नो हर्न’ !

ठमेलमा अब गति सीमित, ‘नो हर्न’ !


सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो ।

ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको जानकारी दिँदै ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइने बताए । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उनको भनाइ छ ।

ज्ञातव्य छ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिसकेको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको उल्लेख गर्दै ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेको बताए । उनका अनुसार ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाई समेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको छ ।

ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ ।

ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ ।

तस्बिर : रासस