‘जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी’ : उपप्रधानमन्त्री श्रेष्ठ

‘जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी’ : उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताउनुभएको छ । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उहाँले बताउनुभयो ।

विश्व ध्यान दिवसका अवसरमा शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैंभित्रको भावना जागृत गराउने, भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताउनुभयो । उहाँले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराधजन्य कार्यमा संलग्न हुने, अरुलाई दुःख दिने कुरामा जोडिने मान्छे ध्यान साधनामा तल्लीन हुन नसक्ने बताउनुभयो ।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत छन् सोङले चीन र नेपालको सम्बन्ध हिमाल र नदीबाट मात्रै नभई बुद्ध र बुद्धिज्ममार्फत पनि जोडिएको बताउनुभयो । उहाँले नेपाल बुद्धिज्मको मुहान भएको उल्लेख गर्दै प्राचीनकालदेखि नै नपाल र चीनको सम्बन्ध मैत्रीपूर्ण भएको बताउनुभयो । अरनिको, भृकुटीजस्ता नेपालीहरू चिनियाँका पनि गौरव भएको उहाँको भनाइ थियो ।

राजदुत सोङले आधुनिक संसारमा मान्छेलाई शान्त र आनन्दका लागि लुम्बिनीबाट विशेष सन्देश प्रवाह गर्न सकिने बताउनुभयो । लुम्बिनीको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनको भातृत्व तथा साथित्वको भावनाले थप मद्दत पुऱ्याउने उहाँको भनाइ थियो ।

लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावासको सहकार्यमा विश्व ध्यान दिवसको अवसर पारेर आज लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरको पवित्र उद्यान क्षेत्रमा भिक्षु, भिक्षुणी, अन्य सर्वसाधरणलगायतले ध्यान गरेका थिए ।

– रासस