‘युवापुस्तामा सकारात्मक भावना जागृत गर्नुछ’
प्रधानमन्त्री प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् ।
विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।
‘राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ, गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनुछ, यसका लागि नवीनता र सकारात्मकता सोच ल्याउन अपरिहार्य भैसकेको छ’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने धारणा प्रधानमन्त्री प्रचण्डले राखे । उनले आध्यात्मिक जागरण र साधनाबिना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरेपनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए ।
‘भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैन, त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसङ्कल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो’, प्रधानमन्त्री प्रचण्डले भने ।
आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया