चन्द्रागिरिमा ‘कपडा बैङ्क’

चन्द्रागिरिमा ‘कपडा बैङ्क’


काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ’ बैङ्क स्थापना गरिएको हो ।

प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैङ्क’ लगेर जम्मा गर्न सकिनेछ । यस्ता सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ (पुन: चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैङ्कले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो-कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।

साथै बैङ्कले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरूको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ‘कपडा बैङ्क’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि-४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आइतबार आयोजित कार्यक्रममा कपडा बैङ्कको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख गिरीले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैङ्कका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।