अवैधरूपमा बसेका दश बङ्गलादेशीलाई पक्राउ गरी अध्यागमनमा बुझाइयो

अवैधरूपमा बसेका दश बङ्गलादेशीलाई पक्राउ गरी अध्यागमनमा बुझाइयो


नेपालमा भिसा सकिएर अवैधरूपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विशेष टोलीले काठमाडौंको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजीव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दिन र मोहम्मद एसिन खान रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको छ । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँचजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाएको थियो ।