इलाम उपनिर्वाचन २०८० : एमाले, रास्वपा र कांग्रेसबीच प्रतिस्पर्धा

इलाम उपनिर्वाचन २०८० : एमाले, रास्वपा र कांग्रेसबीच प्रतिस्पर्धा


  • सुरेन्द्र सुुवेदी, काठमाडौं

गत भदौ २६ मा इलाम क्षेत्र नम्बर २ बाट विजयी सांसद तथा पूर्वसभामुख सुवाशचन्द्र नेम्बाङको निधनपछि हुन लागेको उपनिर्वाचनको माहोल इलाममा दैनिक बढ्दो छ । आगामी वैशाख १५ गते हुने यो निर्वाचनमा प्रमुख प्रतिस्पर्धा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबीच हुने देखिन्छ । यी तीन वटै पार्टीले आफ्ना उम्मेदवार विजयी बन्ने घोषणा गरिरहेका छन् । त्यहाँ १२ वटा राजनीतिक दल र ८ जना स्वतन्त्रगरी २० जनाले उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा एमालेका नेम्बाङले ३० हजार २० मत र कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । उनीहरुको मतान्तर १ सय १४ मात्र थियो । त्यो समयको सत्ता गठबन्धनका साझा उमेद्वार खड्का कांग्रेस, माओवादी, नेकपा एससमेतको मतमा पनि पराजीत भएकोले यस पटक एमालेलाई माओवादीले साथ दिने हुँदा एमालेका उमेद्वार सुहाङ नेम्वाङको पल्ला भारी हुने एमाले नेताहरूको दाबी छ ।

कांग्रेसले गत निर्वाचनमा पराजित भएकालाई पुनः टिकट नदिने भने पनि लामो रस्साकस्सीपछि अन्ततः देउवाको दवावमा उनै खड्काले टिकट पाएका छन् । यसले कांग्रेसको सस्थापन इतरपक्षले अन्तरघात गर्न सक्ने आंकलन पनि कांग्रेसभित्रै देखिन्छ ।

२०७९ मंसिरमा भएको निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । अहिले रास्वपाले पत्रकार तथा पूर्व माओवादी कार्यकर्ता मिलन लिम्बुलाई टिकट दिएको छ । उनले माओवादीको पनि मत आफूतिर तान्न सक्ने भन्दै युवा उम्मेदवार रास्वपाको बढ्दो क्रेजका कारण लिम्बूले निर्वाचन जित्ने आंकलन पनि भइरहेका छन् । ‘अहिले हामी करिव १५ हजार मतको सेरोफेरोमा छौँ, निर्वाचन जित्न करिव २२ देखि २३ हजार मत चाहिन्छ, त्यो मत हामी कांग्रेस, माओवादी, एमालेसमेतका दलका युवाहरुबाट लिनेछौं ।’ रास्वपाका एक नेताले घटना र विचारलाई भने । ती नेताका अनुसार पहिलोमा स्वतन्त्र पार्टीका लिम्बू आउने छन् भने दोस्रो एमाले हुने देखिन्छ ।

नेकपा एसका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भएकोले उनको प्रभावले ३ हजारदेखि ३ हजार ५ सय मत आउने देखिन्छ । त्यसरी एमाले, कांग्रेसको मत काटिँदा स्वतन्त्र पार्टीका लिम्बूलाई नै फाइदा पुग्ने आँकलन पनि गरिएको छ ।

पहिचान पक्षका डकेन्द्रसिंह थेगिमको उमेद्वारी छ । उनलाई कोशी प्रदेश नामाकरणको विरुद्ध आन्दोलनरत ४१ वटा संस्था र जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीसहितको समर्थन भएकोले पहिचान पक्ष थेगिमले निर्वाचन जित्ने आंकलनमा छन् । तर, त्यो सम्भव देखिएको छैन । एमालेको विरासत रहेको यो क्षेत्रमा एक पटक केवी गुरुङले कांग्रेसको तर्फबाट निर्वाचन जितेका थिए भने बाँकी निर्वाचनमा सधैं एमाले नै विजयी बन्दै आएको छ ।

एमालेले सहानुभूतिको मत पनि पाउने आशामा सुवासकै छोरा सुहाङलाई टिकट दिएको हो । कानुन व्यवसायी सुहाङमाथि ‘राजाको छोरा राजा नै’ भन्ने आरोप लागिरहेको छ । जिल्लामा बसेर लामो समय राजनीति गरेका नेतालाई टिकट नदिएर राजनीतिमा संलग्न नै नभएका सुहाङलाई टिकट दिएपछि एमालेका रुस्ट युवाहरुले स्वतन्त्र पार्टीका लिम्बूलाई मत दिने पनि देखिन्छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इलामको निर्वाचनको स्थलगत अध्ययन गरेर ३२ वर्षपछि यो पटक कांग्रेसका उमेद्वारले निर्वाचन जित्ने पार्टीमा ब्रिफिङ गरिसकेका छन् । सहमहामन्त्री भीष्मराज आङदेम्बेसमेतका नेता खड्कालाई जिताउन इलाम पुगिसकेका छन् भने रास्वपाका सभापति रवि लामिछानेसमेतका प्राय चिनिएका नेता इलाम पुगेर स्वतन्त्र पार्टीको जित सुनिश्चित भएको उद्घोष गरेर फर्किएका छन् ।

बलियो संगठन र चलायमान नेता तथा कार्यकर्ताका कारण इलाममा सुहाङलाई पराजीत गर्न त्यति सजिलो देखिन्न । अन्ततः सुहाङ, लिम्बू र खड्काबीच त्रिकोणिय प्रतिस्पर्धा हुने देखिन्छ ।

गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार १ सय ५३ र रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो । यस्तै मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय १३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ सय १९, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६, नेकपा एकीकृत समाजवादीले ५ सय ८६, नेकपा मार्क्सवादीले १ सय २९, जनमत पार्टीले १ सय २४, आमुल परिवर्तन मसिहा पार्टी नेपालले १ सय ५, लोसपाले ९९, नेमकिपाले ७१, नेपाली जनता दलले ६० मत पाएका थिए ।

यो चुनावमा साना दल राप्रपाले लक्ष्मी गुरुङ, नेकपा एसले जीतबहादुर राई र राप्रपा नेपालका गणेशबहादुर चौहान उमेद्वार छन् ।