राप्रपाको शक्ति प्रदर्शन : काठमाडौंमा कडा सुरक्षा, ६ हजार प्रहरी सडकमा

राप्रपाको शक्ति प्रदर्शन : काठमाडौंमा कडा सुरक्षा, ६ हजार प्रहरी सडकमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी काठमाडौंमा गर्ने शक्ति प्रदर्शनमा अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी सडकमा परिचालित भएका छन् । सरकारले तोकेका निषेधित क्षेत्र तोड्ने राप्रपाले घोषणा गरेकोले सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीको भनाइ छ ।

अहिले काठमाडौंमा ६ हजार प्रहरी परिचालन भएका र आवश्यक परे थप तैनाथी अवस्थामा राखिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

राप्रपाले सोमबारसम्म करिव २ वटा बसमा काठमाडौं बाहिरबाट आफ्ना कार्यकर्ता ल्याएको छ भने अझै रिजर्भ बसहरु आइरहेका छन् । राप्रपाले १ लाख जना सडकमा उतार्ने दावी गर्दै आएको छ । तर, प्रहरीले भने करिव १२ हजारको हाराहारीमा मानिसहरु भेला हुने अनुमान गरेको छ ।

राप्रपाले ४० बुंदे माग राखेको छ । उसले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणासमेतका माग राखेको हो । ती माग पूरा गर्न उसले शक्ति प्रदर्शन कार्यक्रम राखेको हो ।

राप्रपाको प्रदर्शनलाई व्यवस्थित बनाउन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा विशेष प्रहरी सादा पोशाकमा खटिएका छन् । भृकुटीमण्डपबाट सुरु हुने उसको प्रदर्शनी काठमाडौंका चोकचोकतर्फ अघि बढ्ने तयारी छ ।

प्रदर्शनलाई व्यवस्थित गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन भन्दै प्रहरीका अधिकारीहरुले राप्रपाका नेताहरुसित समन्वय गरिरहेको प्रहरी अधिकारीहरुको भनाइ छ । प्रदर्शनको तयारीसँग काठमाडौंको भृकुटीमण्डपसमेतका क्षेत्रमा ट्राफिक जाम सुरु भइसकेको छ । ट्राफिकले जुलुस अघिबढ्ने क्षेत्रमा यातायात डाइभर्ट गर्न थालिसकेको छ ।

file photo