वसन्त ऋतुमा हिमाल आरोहण : ४२ टिमका ३८१ जना हिमाल चढ्दै, २५ करोड राजश्व प्राप्ति

वसन्त ऋतुमा हिमाल आरोहण : ४२ टिमका ३८१ जना हिमाल चढ्दै, २५ करोड राजश्व प्राप्ति


  • सुरेन्द्र सुुवेदी, काठमाडौं

पर्यटनको भाषामा ‘स्प्रिङ सिजन’ भनिने गत मध्यफागुनदेखि आगामी जेठ १८ गतेसम्म नेपालका हिमाल चढ्न ४२ वटा समूहले अनुमति लिएका छन् । यी समूहमा २ सय ९२ जना पुरुष र ८९ जना महिला रहेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले घटना र विचारलाई बताए । निर्देशक गुरुङका अनुसार विश्वको सबैभन्दा अग्लो ८८४८ दशमवल ८६ मिटरको सगरमाथा हिमालदेखि ५९२२ मिटर अग्लो जुगल ५ समेत १६ वटा हिमाल चढ्द विभागले अनुमति दिएको हो ।

विभागका अनुसार आमा दब्लाम चढ्न ५ समूहका ५२ जना, सगरमाथा चढ्न १४ समूहका १ सय ५५ जना, ल्होत्से चढ्न ४ समूहका ४५ जना र मकालु चढ्न ३ समूहका ३५ जनाले अनुमति लिएका हुन् । हिम्लुङ, जुगल ३, अन्नपूर्ण, पुठा हिमचुली, खाङ्ग्री सर, धौलागिरी, टेङ्काङपोछे, टेङ्कोमा, जुगल १, जुगल २ र जुगल ५ हिमाल चढ्न पर्यटकहरुले अनुमति लिएका हुन् ।

हिमाल चढ्न लिने सलामीअनुसार सबैभन्दा धेरै सगरमाथा चढ्नेले २१ करोड ८६ लाख १२ हजार ३ सय ३४ र सबैभन्दा कम जुगल ३ चढ्नेले ३३ हजार ७५ रुपैयाँ सलामी तिरेका छन् । विभागले हिमाल चढ्न दिएको अनुमतिअनुसार देशलाई २५ करोड ७ लाख, ४० हजार २ सय ३६ रुपैयाँ सलामी (रोयल्टी) प्राप्त भएको विभागका निर्देशक गुरुङको भनाइ छ ।

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउने गरेका छन् । निर्देशक गुरुङका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको अनुमान छ । हिमाल आरोहणका लागि आरोहीले अनलाइन बुकिङ गर्नसक्ने व्यवस्था विभागले मिलाएको छ ।

file photo