देश र जनहितमा लाग्न नेता-कार्यकर्तालाई केपी ओलीको सुझाव

देश र जनहितमा लाग्न नेता-कार्यकर्तालाई केपी ओलीको सुझाव


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो ।

बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उहाँले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताउनुभएको हो । आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पुऱ्याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोहीअनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

करिब रु तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्नुभएको थियो । हेलिकप्टरमार्फत त्यहाँ पुग्नुभएका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गर्नुभयो ।

यस्तै, उहाँले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला-टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गर्नुभएको थियो ।