डोल्पा डढेलोमा घाइते भएका बालकको मृत्यु

डोल्पा डढेलोमा घाइते भएका बालकको मृत्यु


डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिएका छन् । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।

गाउँनजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझमा जिल्ला अस्पताल पुऱ्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा. अखण्ड उपाध्यायले जानकारी दिए ।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौं लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।

गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका-४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीन जनाको मृत्यु भएको थियो ।