क्रमभङ्ग

क्रमभङ्ग


मंगलाचरण । सत्य लेखूँ असत्य नलेखूँ । सरस्वतै नमोनमः । एक बारको जुनीमा सतोसत् बोल्नुपर्छ/लेख्नुपर्छ । आफ्नो ब्रम्ह ढाँटिने होओइन । आधुनिक मनुवाको सद्बुद्धि पलाओस् । मृत्यु पर्यन्तको जीवन बुझ्न कठोपनिषद् पढे कसो होला ? साहित्य त तमाम जनताको पक्षमा उभिनुपर्छ अन्यथा एकाङ्गगी होला । बाबुआमा नि बाबुआमा जस्तो हुनुपरो नि । आफ्नो औरसलाई कुलत∕कुसंस्कार सिकाउने बाबुआमा शत्रु हुन् ।

जे होस् अजामिल जस्तो बाऊ र त्रिजटा जस्ती आमा भए नि श्रद्धा गर्नुपरो है । औसत मनुष्यहरू अर्काको कुरा काटेर जीवन रित्याउँछन् । कुरा काट्नुको साटो रामायण पढे त परत्र सुधिन्थ्यो कि । आफ्नो जिम्मेवारी पूरा गरे भो नि किन हुटेलसिङ/बरालसिङ हुनुपरो र ? सम्पादक्यौली बुज्रक्याइँ खुबको छ, मृत्युचेत छैन ।

नेपालको विकास हुन भ्रष्ट पुस्ताको अन्त्य हुनुपर्छ । घुस्याहा चामु जनै फालेर वृन्दावन पस्यो । भ्रष्टाचारी पूजिने, सदाचारी दुत्कारिने देश हो- नेपाल । भ्रष्टाचार पापकर्म हो । भ्रष्टलाई बहिष्कार्नु पर्छ । दल त दलदलमा भासियो । कमिस्टको तातो भाषणले केही गर्ला भन्या त पार्टीका टाउकेहरू ढाडिएको जुका झैं पूँजीपति भए । सामन्त गयो नवसामन्त आयो । काङ्ग्रेसको आत्मा उडिसक्यो स् जराजीर्ण शरीर बचेको छ । रङ्क सर्वहाराको सर्वहारा । नैतिकहराम छाडा मान्छेहरूको वर्चस्व । साइलकरुपी समाज । परिवर्तनाभास छैन । मौलिकताको क्षयीकरण हुँदो ।

जीवन दिनेले जीवन लिन सक्ला तर जीवन दिन नसक्नेले जीवन लिन मिल्दैन । अपराधीलाई आजीवन कारावाससम्म दिनुपर्ने हो : मृत्युदण्ड चैं दिन मिल्दैन है । तथाकथित प्रजातान्त्रिक/मानवाधिकारवादी भनेर कहलिएका कतिपय मुलुकहरूले सिद्धान्तको बर्खिलाप मृत्युदण्ड दिंदा छन् । अर्काको निजी जिन्दगीको किन उत्खनन गर्नुपरो र ? चासो लिने नराधमहरू धेरै। अर्धशिक्षित लालबुझक्कड बन्दो । वर्णाश्रम शून्य, बुढ्यौली मनोविकारग्रस्त । ओथारेको विगविगी । स्वदेश रित्तियो स परचक्रीको जगजगी । नेपाल मातालाई बर बिचरी भन्ने कोही भएन । गुन गर्ने दिनहरू सकिएछन् । भैंसी भैंसी नै रह्यो, गाई हुन सकेन । सामाजिकीकरण भन्दैमा पृथकतावादी, नश्लवादी, दुराचारी, व्यभिचारी, पातकी, जँड्याहा, हुल्याहा, छुल्याहासित कसरी संगत गर्न सकिन्छ र ?

सज्जन घट्दो, दुर्जन बढ्दो । परपीडक पीडामा रमाउँछ । लखनेहरू पुङमाङ∕पाङदुरे । जग्गा ठेक्कामा, जग्गाधनी बेकम्मा । स्वार्थ बाझेसि साथीत्व खलास । देशको ताल न हाँसको चाल न कुखुराको चाल । विद्वान विद्वानसित, मुर्ख मुर्खसित । आफू रक्सी धोक्छ, नित्यकर्म गर्दैन अनि अर्काको खोइरो काढ्छ । ज्ञान विज्ञान द्वन्दरत । अल्पबुद्विक भयावह । सकारात्मक चिन्तन सकारात्मक कम्पन । नकारात्मक सोच नकारात्मक पराकम्पन । मुर्ख अरूलाई मुर्ख देख्छ । मान्छेले आफ्नो अतीत बिर्सने रोग – ताजुब लाग्दो । हिजोको भुइँफुट्टा ठुलो कुरा गर्छ । पञ्चायतमा चप्पल पड्काउनेहरूले करोडौंको कार चढ्ने हैसियत बनाए गणतन्त्रमा । एक जना राजा थियो । अहिले बग्रेल्ती नव-राजाहरू छन् । कुरा गऱ्यो कुराकै दु:ख ।

हनुमानहरू छाते, ढोके, बैठके हुन रमाउने भएसि चौरासी/अट्ठासी आए नि के हुने भो र ? मतदानप्रति वितृष्णा बढ्दो, खोजेको मान्छे भेटिएको छैन । काल्केटो/तारे अस्ताए, झर्रो आन्दोलन टुहुरो भो । नर वा कुञ्जरौ अश्वत्थामा हतोहतको जुग, एकलव्य पाउन मुश्किल । निकम्मा सम्बन्ध तोडेको जाती । आफ्नो बाटो हिड्ने हो, अर्काको बाटो किन हिँड्ने हो र ? आदर्शको सामल बुक्याएर केही हुन्न । दुर्योधन/दुशासनको रजाइँ । सुकरातको रिपब्लिक सन्देहास्पद । अजातशत्रु/अनालोच्य को पो छ र ? बाप वैरी साँध्न दुस्मन मुख बाउँदो । डिस्टर्ब नहुँदो हो त बालापन रमाइलो । आफू छ त सबै छ, आफू छैन त केही छैन । वर्षौंदेखि शिवालिक टङ्चिदों छ । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।