‘स्थिर संस्था’प्रति नेपाली-जनमत वृद्धि भएको पूर्व श्री ५ को धारणा

‘स्थिर संस्था’प्रति नेपाली-जनमत वृद्धि भएको पूर्व श्री ५ को धारणा


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय भएको बताउनुभएको छ । नयाँ वर्ष वि.सं. २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना भएको धारणा राख्नुभएको छ ।

हेरौँ राजा ज्ञानेन्द्र शाहद्वारा सम्प्रेषित शुभकामना सन्दैस जस्ताको तस्तै-

नेपाली दिदी बहिनी तथा दाजुभाइहरू,

हामी विक्रम सम्बत २०८० लाई विदाई गरेर यतिखेर २०८१ मा प्रवेश गरेका छौं । नव बर्षको अवसरमा हामी देश तथा विदेशमा रहेबसेका सबै नेपालीहरुको सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना प्रकट गर्दछौं । नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन । आज आम नेपालीको चिन्ता यही विषयमा छ ।

न देशको गौरव-गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्नो सुनौलो भविष्य नदेखेर भौंतारिएका छन् । देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो ।

शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना हो । उन्नत राजनीतिक विधिविधानले उच्चत्तम उपलब्धि र आशा जगाउन सक्नु पर्दछ । जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ । तर हामी कहाँ दायाँ-बायाँ जता पनि लाग्ने, निश्चित गन्तब्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो ।

त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौं, गम्भिर भएर सोचौं, सबै मिलौं, कसैले कसैलाई निषेध नगरौं र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौं । मान्छे मानवीय समाज, विविध वर्ग र समुदाय आकार-प्रकार शील-स्वभावका आधारमा फरक-फरक भए पनि राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्छ । स्थिरता, स्थायित्व र निरन्तरता त्यसमा रहनुपर्छ । आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्,
जय नेपाल ।
२०८१ साल बैशाख १ गते