६५ वर्षीय पुष्करद्वारा ३ घण्टा ३८ मिनेटमा चक्रपथको एकल म्याराथन

६५ वर्षीय पुष्करद्वारा ३ घण्टा ३८ मिनेटमा चक्रपथको एकल म्याराथन


बर्दियानिवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले काठमाडौं उपत्यकास्थित २७ कि.मि. दूरीको चक्रपथ ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गरेका छन् । यही बैशाख ५ गते रामनवमीको दिन ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने पवित्र सन्देशका साथ उक्त म्याराथन आयोजना गरिएको थियो ।

कलंकीबाट बिहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलंकीमै समापन भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको उक्त ऐतिहासिक कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ज् का डिस्ट्रिक गभर्नर लायन शम्भुबहादुर थापाले उक्त म्याराथन शुरु गराएका थिए । कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल प्रहरी कलंकी वृत्तका प्रहरी नायव निरीक्षक यमबहादुर थापाको नेतृत्वमा कार्यक्रमको कुशल संयोजन गरिएको थियो भने म्याराथन शुरु हुनुभन्दा अगाडि आयोजक क्लबका अध्यक्ष लायन ताराप्रसाद मैनालीले कार्यक्रम आयोजना गरिनुको उद्देश्यबारे स्पष्ट पारेका थिए ।

धावक पुष्कर विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश प्रवाहित गरे ।

म्याराथन सम्पन्न भएपश्चात गभर्नर लायन शम्भुबहादुर थापाले धावकलाई यो साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाएर बधाइ तथा शुभकामना दिए भने आयोजक क्लबका अध्यक्ष लायन ताराप्रसाद मैनालीले आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरू आयोजना गर्ने जानकारी गराए ।