समाचार सम्प्रेषणमा देखिएका कमजोरी सुधार गर्दै लगिने एआइजी तामाङको प्रतिबद्धता

समाचार सम्प्रेषणमा देखिएका कमजोरी सुधार गर्दै लगिने एआइजी तामाङको प्रतिबद्धता


प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले व्यक्तिविशेष भन्दा पनि सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले भने, ‘प्रहरीबाट प्रवाह हुने अपराधका घटनालगायत जनचासोसम्बन्धी कुनै पनि सूचनाहरू नेपाल प्रहरीको मिडिया नीति, सांगठनिक कार्य नीतिको अधिनमा रहि सम्बन्धित कार्यालयका सूचना अधिकारी वा कार्यालय प्रमुख वा तोकिएको अधिकृतबाट प्राप्त गर्न सकिने छ ।’

समाचार सम्प्रेषणको क्षेत्रमा देखिएका समस्याहरूलाई सुधार गर्दै आगामी दिनमा अझ चुस्त र प्रभावकारी रूपमा कार्यसम्पादन हुने प्रतिवद्धता एआइजी तामाङले गरेका छन् ।

विभागले पहिलो पटक गरेको सञ्चारकर्मीसितको अन्तरसंवादमा सूचना प्रवाहमा देखा पर्ने समस्या एवम् चुनौतिहरूको पहिचान भइ त्यसको निराकरणका लागि अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् अपेक्षा अत्यन्तै फलदायी हुने र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने एआइजी तामाङले प्रतिवद्धता जनाए ।

अपराधको क्षेत्रमा समाचार लेख्ने पत्रकार, प्रेस काउन्सिल र सूचना तथा सञ्चार मन्त्रालयका प्रतिनिधि तथा अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अधिकृतहरुबीच एआइजी तामाङले यस्तो धारणा राखेका हुन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा आपराधिक घटनाको समाचार सम्प्रेषणासम्बन्धी अन्तरक्रृयामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत शारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्रराज सिंहसमेतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका विषयमा धारणा राखेका थिए ।

विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आपराधिक घटनाको समाचार सम्प्रेषण गर्ने सम्बन्धी प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षा, मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिएका थिए ।

कार्यक्रममा अपराधको क्षेत्रमा कलम चलाउने दर्जनबढी पत्रकारले सूचना पाउन ढिलाइ हुने, सूचनाहरु सतहका मात्र प्राप्त हुने र प्रहरी अधिकारीहरुले प्रहरीविरुद्ध समाचार लेखाउनेजस्ता विसंगति हटाउन आग्रह गरेका थिए ।

प्रहरी उच्च अधिकारीहरुले विभागले पहिलोपटक यस्तो अन्तरकृया गरेको र यसमा प्राप्त सुझावहरुलाई तुरुन्त मातहतका कार्यालयमा सर्कुलेसन गर्दै आगामी दिनमा क्रमश कमी–कमजोरीहरु हटाउँदै जाने बताएका छन् ।