✍ ठाकुर बेलवासे
मानिसहरूले समयसँग एउटा असल मान्छे मागेका थिए
आफ्नो देश जोगाउन
र, आफुलाई बचाउन !
मानिसहरूको ब्याकुलता देखेर होला
सायद समयले उनीहरूलाई
भगवान् दियो
भगवानलाई मानिसहरूले आफ्ना सम्पूर्ण चिजहरू दिए
जस्तो कि-
आँखा दिए
रोगी थिए आँखा
पावरदार चस्मा दिए
खुट्टा दिए
कमजोर थिए खुट्टा
शुभचिन्तकले दिएको वैशाखी थियो
त्यो पनि दिए
हात दिए
हातसँगै शक्ति र संघर्ष पनि दिए
मन दिए
मनसँगै हिम्मत पनि दिए
दिँदै गए, जस्तो कि-
शीरको टोपी
शरीरको दौरा
अनि कछाड पनि दिए
बिना चिन्ता
मानिसहरू नाङ्गो भए
उनीहरूले आफ्नो मस्तिष्क पनि दिन खोजे
उसले मानिसहरूको मस्तिष्क लिन चासो दिएन
एकदिन केही घण्टाकाका लागि उसले मानिसहरूको मस्तिष्क माग्यो
हर्षविह्वल भएर उनीहरूले
आफ्नो मस्तिष्क पनि दिए
केही घण्टामै मस्तिष्क फिर्ता गऱ्यो
प्रभुमा समर्पण गरेको
हाम्रो मगज फिर्ता लिन्नौं भन्दै
भक्तिभाव गर्न थाले मानिसहरू !
तर ऊ
पुराना, जीर्ण र रोगी मस्तिष्क मलाई चाहिँदैन भन्दै झर्कियो
ऊ
उनीहरूको अन्तिम भगवान् थियो
बिना सर्त विश्वास थियो
अनि मानिसहरूले आँखा चिम्लिएर
समयले दिएको भगवानको आराधना गर्न थाले !
आँखा खोल्दा त
ऊ राक्षस बनेको थियो
उसका हातहरू डोजर बनेका थिए
आँखा ज्वालामुखी
खुट्टा खुँडा-तरबार बनेर दौडिरहेका थिए
देशको छातिमाथि विदेशी काँढेदार बुट बजार्दै
ऊ चिच्याइरहेको थियो-
‘तिमीहरू बाँच्नु पर्दैन
आफै मर्छौ कि
म गरौं तिमीहरूलाई… !’
यसबेला मानिसहरू मात्रै होइन
समयलाई समेत
उसले नाङ्गो बनाइसकेको थियो !
अहिले उनीहरू समयसँग
गुनासो गरिरहेका छैनन्
विवेक गुमेको आफ्नै विगतसँग
गुहार माग्दैछन् !
हरेक परिस्थितिले सडकका मानिसलाई
समय जोगाउने जिम्मा दिन्छ !
फेरि पनि त्यस्तै स्थिति उनीहरूका अगाडि आएको छ !
भगवानले भन्दा ठूलो शक्ति राख्ने
सडकका मानिसहरू नै जन्माउँछन् भगवानहरू
र
सडककै मानिसले नै त बध गर्छन्
राक्षसहरू !
प्रतिक्रिया