कतारका अमिर आज अपराह्न नेपाल आउँदै

कतारका अमिर आज अपराह्न नेपाल आउँदै


राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानुहुने भएको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज (वैशाख ११ गते) नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नुहुनेछ ।

त्यस्तै कतारका अमिर शेख थानीले बुधबार (वैशाख १२ गते) प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लाग्नुभएको हो ।