भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी गरिँदै

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी गरिँदै


विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि (वैशाख १२) काठमाडौंमा बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो ।

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेशगरिने छन् ।

विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्संदै जाने मानवीय स्वभाव छ । फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार जनसाधारणलाई भूकम्पबाट सधैँं सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।

नेपालमा २०७२ साल वैशाख १२ गते ११ः५६ बज विनाशकारीे गोरखा भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प थियो । त्यो बेला करिब ९००० मानिस ज्यान गएको थियो भने आठ लाखभन्दा बढी भौतिक संरचनाहरुको क्षति भएको थियो । साथै उक्त भूकम्पमा २२ हजार भन्दा बढी मानिसहरु घाइते भए । सो भूकम्प गएको एक वर्षको अवधिमा करिब पाँचसय भन्दा बढी परकम्पहरु महसुस गरिए । जसमध्ये ५ म्याग्नेच्युुटभन्दा माथिका ६ वटा थिए । बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पहरुको चपेटामा परेर ८ हजार ७८९ जनाको मृत्यु भयो ।

विगत केही वर्षयता नेपालको पश्चिमी भूभागमा पटकपटक मझौला खालका भुकम्पको धक्का महसुस भइरहेको छ। गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ लोकल म्याग्नेच्युटको भूकम्पमा परेर १५६ जनाले ज्यान गुमाए । जाजरकोट, बझाङ र रुकुम पश्चिममा गरेर ८४ हजारभन्दा बढी घरहरु क्षतिग्रस्त बने।

नेपालको भौगोलिक अवस्थितिका कारण भविष्यमा २०७२ सालको जस्तै वा त्यो भन्दा पनि ठूलो विनासकारी भूकम्प आउने संभावना उत्तिकै छ । नेपालको पश्चिमी भेगमा ठूला भूकम्प नआएको पनि पाँचसय वर्ष भन्दा बढी बितिसकेको छ । तसर्थ नेपाल सदैब भूकम्पीय उच्च जोखिममा रहेको छ ।

भूकम्प कतिखेर आउँछ भन्ने पत्ता लगाउने वैज्ञानिक प्रविधिको हालसम्म विकास विश्वमै भइसकेको छैन् । त्यसकारण भूकम्प आउने कुरा पूर्वानुमान गर्न सकिँदैन भने भूकम्पलाइलाई रोक्न पनि सकिँदैन तर भूकम्पबाट हुने क्षतिलाई विगतबाट पाठ सिकेर कम गर्न भने सकिन्छ । प्रदर्शनीमा राखिएका तस्वीरहरुले पनि यही पाठ सिकाउन र सचेत रहन मद्दत गर्दछन् ।

file photo