कतारी अमिरको नेपाल भ्रमण : सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना

कतारी अमिरको नेपाल भ्रमण : सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना


कतारी आमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । राजा आमिरको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित हुनेछन् ।

सेनाको कमाण्ड भावी सेनापतिका रुपमा चिनिने रथी अशोक सिक्देलले गर्नेछन् । आज (११ वैशाख) अपराह्न करिव पाँच बजे नेपाल आउने कतारी राजा आमिरको नेपाल भ्रमण दुई दिनको हो । यसअघि कतारबाट यस्तो उच्च भ्रमण नेपालमा भएको थिएन ।

सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । भ्रमणलाई सहजता दिन, ट्राफिक जाम हुन नदिन र कतारी राजाको सम्मानमा सरकारले सार्वजनिक विदा दिएको हो ।

राजाको सुरक्षाका लागि सेनाका रथी, प्रहरी र सशस्त्रका एआइजीहरु नै परिचालित हुने भएका छन् । उनीहरुको कमाण्डमा कडा सुरक्षा व्यवस्था मिलाएको छ भने कतारका तर्फबाट पनि त्यहाँका सुरक्षाकर्मीले आवश्यक सुरक्षा दिने स्रोतहरको भनाइ छ ।

नेपाली सेनाले राजाको सम्मानमा २१ तोपको सलामी दिनेछ भने राष्ट्रपति रामचन्द्र पौडेल उनको स्वागतका लागि एयरपोर्ट नै पुग्ने छन् । राजाको जहाज अवतरणअघि र पछि १५÷१५ मिनेट बिमानस्थलबाट कुनै पनि उडान हुनेछैनन् ।

सेना, प्रहरी र सशस्त्रले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा पनि कडा निगरानी राखिरहेको छ । सुरक्षाका लागि काठमाडौंमा ड्रोन पनि प्रयोग गरिने भएको छ । बिहानैदेखि काठमाडौंमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको देखिन्छ ।