सिन्धुलीका एसपी पनि तानिए : सात एसपीको नियमविपरीत सरुवा

सिन्धुलीका एसपी पनि तानिए : सात एसपीको नियमविपरीत सरुवा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नियमविपरीत सरुवा गर्ने उपक्रमलाई निरन्तरता दिँदै गृहमन्त्रालयले अर्काे अवैधानिक सरुवा गरेको छ । सिन्धुलीमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्मालाई सरुवा भएको ७१ दिनमै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सिफारिसमा पुनः सरुवा गरिएको छ । एसपी शर्मा गत फागुन १ गतेमात्र सिन्धुलीको प्रहरी प्रमुख भएर गएका थिए ।

एसपी शर्मालाई सरुवा किन गरियो ? यसको कारण भने खुलाइएको छैन । प्रहरीमा विनाकारण कुनै पनि प्रहरी कर्मचारीको सरुवा गर्न नपाउने नियम छ । कार्यरत रहेको स्थानमा एक वर्ष बस्नैपर्ने बाध्यकारी नियम रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले छानी–छानी इमान्दार र पूर्ण व्यवसायिक कर्तव्य निभाएका प्रहरी अधिकारीहरूको जथाभावी सरुवा गर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेले हालै सर्लाहीमा दयानिधि ज्ञावाली ४५ दिन, धनुषामा मित्रबन्धु शर्मा ३ महिना, महोत्तरीमा श्यामकुमार राई ४५ दिन, रौतहट महेन्द्रकुमार श्रेष्ठ ७ दिन, बारा सुरेश काफ्ले ७ महिना र बाँके सुवास बोहोराले ६ महिनामै सरुवा गरेका छन् । उनीहरुले तराईमा फैलिएको हुण्डीको कारोबार नियन्त्रण गर्न थालेपछि कारवाही गर्दै असमयमै सरुवा गरिएको हो । यी सबै एसपीले अबैध रुपमा सञ्चलन भइरहेका हुण्डीको कारोबार र तस्करी नियन्त्रण गर्दै नक्कली नोट बरामद गरेका थिए ।

भारतबाट न्यून गुणस्तरको दाल ल्याएर गोदाममा नक्कली केमिकलको पोलिस लगाएर आपूर्ति गराउनेदेखि भारत नेपाल सीमामा नक्कली नोटको कारोबार र हुण्डीको कारोबार नियन्त्रण गर्न थालेपछि अत्तालिएको गृह प्रशासनले इमान्दार एसपीहरुलाई सरुवा गरेर मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरुलाई ‘बुझाउन’ सक्ने छवी भएका एसपीहरु ती जिल्लामा पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।