बालिका बेचविखन गर्ने महिला पक्राउ

बालिका बेचविखन गर्ने महिला पक्राउ


नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाइ वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटक–पटक भेटेर तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौंको संस्थाको होस्टलमा राखिदिन्छौ भनी काठमाडौं ल्याएर बिक्री वितरण गरेको अनुसन्धानमा खुलेको बताए ।

पक्राउ विश्वकर्माले अढाई वर्षकी बालिकालाई गत चैत २९ गते पीडितको घरमा गइ ल्याएर चार दिन आफ्नो घरमा राखी बालिकालाई झापाको काकरभिट्टासम्म पु¥याएर भारतको सिलगुढी माइती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई रु २० हजार दिएको अनुसन्धानमा खुलेको छ । प्रहरीले पीडित बालिकालाई बैशाख १० गते उद्दार गरी सुरक्षित आवासगृहमा राखेको छ ।

प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले जानकारी दिएका छन् ।