मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा-आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा-आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका-११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक सिरानचोक गाउँपालिका-७ नयाँसाँघु बस्दै आएका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सीता गहतराजको घाइते भएकी छन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।