देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै


हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज (१६ वैशाख) दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।