नुवाकोटको स्मरण : गन्तव्यहीन यात्रा !

नुवाकोटको स्मरण : गन्तव्यहीन यात्रा !


यही वैशाख ६ गते हामी नुवाकोटको एक समारोहमा भाग लिन गएका थियौं । त्रिशूली प्रवाहले २५औं वर्ष रजत कार्यक्रमको आयोजना गरेको थियो । करिब २१ वर्षअघि गरिएको वार्षिकोत्सवमा पनि गएको थिएँ । मैले नुवाकोट जिल्ला टेकेको २०३७ सालमा हो, त्यो बेला अनेरास्ववियु एकताको पाँचौं भर्खर राष्ट्रिय अस्तित्वमा देखापरेको थियो । म त्यसैको सङ्गठन विस्तारको सिलसिलामा नुवाकोट गएको हुँ ।

त्योभन्दा अघि नै नुवाकोटका कम्युनिष्ट अभियन्ता शारदारमण नेपालसित पचिय थियो र उहाँकै स्कूल क्षत्रपाल माविमा भर्ना हुन वैशाख ४ गते चौघडा पुगेको थिएँ । त्यो वेला नुवाकोटमा एकताको पाँचौंको खासै सङ्गठन थिएन । जिल्ला प्रतिनिधिका रूपमा देवीघाटका पद्मलाल चित्रकार थिए जो चौघडामा पढ्थे । महेन्द्रबहादुर पाण्डे काठमाडौंमै प्राध्यापन गर्नुहुन्थ्यो भने अर्जुन पाण्डे, शशी पाण्डे र दिवाकर पाण्डे काठमाडौंमै बस्थे । क्षत्रपाल माविमा पद्मलाल चित्रकार र म मात्र एकताको पाँचौंका थियौं, बाँकी जम्मै विद्यार्थी छैटौंका थिए । त्यति वेला माले (हाल एमाले) पाँचौं र मसाल छैटौंका रूपमा परिचित थिए । म वैशाख ४ गते भर्ना भएँ, लगत्तै १४ गते ममाथि पञ्चहरूले साङ्घातिक आक्रमण गरे, फलस्वरूप १५ गतेदेखि विद्यार्थी आन्दोलन सुरु भयो, यसलाई नरबहादुर काण्डका रूपमा चिनिन्छ ।

त्यो बेला मसाल चीनविरोधी अभियानमा थियो र माले चीन समर्थकका रूपमा परिचित थियो । छैटौंका मित्रहरू देङसियाओ पिङ र ह्वाको फङलाई चीनियाँ गद्दार अर्थात् संशोधनवादी भनेर आलोचना गर्थे र हामीचाहिँ बचाउ गर्थ्यौं । यही कुराले पनि छैटौं र हाम्रोबीच विवाद र बहस भइरहन्थ्यो । चौघडा अर्थात् नरबहादुर काण्डमा मलाई साथ दिने मुख्य पात्रमा अङ्ग्रेजी शिक्षक चन्द्रकान्त पौडेल हुनुहुन्थ्यो, साथै पीताम्बर भण्डारी, रमा घिमिरे आदि शिक्षक पनि थपिनुभयो र त्यस वेला नुवाकोट, रसुवा र धादिङव्यापी आन्दोलन भयो । त्यो वेला मेरो नाम चर्चाको शिखरमा थियो । हाम्रो आन्दोलनमा जिल्लाका नेताहरू डा. प्रकाशचन्द्र लोहनी र अर्जुननरसिंह केसीहरू चौघडा गएपछि बढी चर्चित बन्न पुगेको थियो । यसरी नुवाकोटमा मेरो राजनीतिक जीवन सुरु भयो । त्यस वेलाको विद्यार्थी राजनीतिमा म जता लाग्यो उतैको मास बढ्ने भयो । मलाई हात लिन छैटौंसमर्थक शिक्षक/विद्यार्थीको तँछाड् मछाड् नै लाग्थ्यो । तर म माले र पाँचौंबाट टसमस नै भइनँ ।

सङ्गठन गर्न फिल्डमा पनि जानुपर्थ्यो, पद्मलाल चित्रकार डरछेरुवा रहेछन्, उनी जान मानेनन् । म एक्लैले केही दिन त धानें तर निकै गा¥हो भयो, यसै बीचमा महेन्द्रबहादुर पाण्डेका भाइ राजु पाण्डेले साथ दिनुहुने भो । हामी दुईजनाले झण्डै १ वर्ष नुन र चिउराका भरमा सङ्गठन गर्न अहोरात्र खट्यौं । महेन्द्रबहादुरकै बहिनीज्वाइँ गजेन्द्रबहादुर खड्का जो भैरवी माविका विज्ञान शिक्षक हुनुहुन्थ्यो-को घर बेहरापानीमा मुख्य सेल्टर बनाइयो । दोस्रो च्वाडी हाइस्कूलका शिक्षक शिवप्रसाद मिश्रको निवास माझीटार र तेस्रो सेल्टर चोकदे स्कूलका शिक्षक शशी पाण्डेको निवासलाई बनाइयो । त्यो वेला नुवाकोट जिल्लामा पाँचौंको यौटा प्राकसम्म थिएन । राजु पाण्डे र मैले प्रत्येक स्कूलहरूमा गएर प्राक बनाउने गर्दैगयौं । करिब २ वर्षको अवधिमा हामी छैटौंको हाराहारीमा पुग्यौं ।

म नुवाकोट जाँदा दलीय हिसाबले नेपाली काङ्ग्रेस र विद्यार्थी सङ्गठनमा छैटौं मजबुत थियो । यति वेलासम्म माले पार्टी र अनेरास्ववियुको जिल्ला सङ्गठन थिएनन् । सम्भवतः २०३९ तिर बद्री अर्याल अध्यक्ष, रामलाल श्रेष्ठ सचिव र विन्दा पाण्डे कोषाध्यक्षसहित जिल्ला कमिटी गठन भयो । साथै धादिङ देउरालीका कृष्णदास श्रेष्ठ, नुवाकोटकै नारायण खतिवडासहितको पार्टी सङ्गठन पनि बन्यो । त्यसपछि हामीले किसान सङ्घ, मजदुर सङ्घ आदि निर्माण गर्दैगयौं । त्यो वेला शिक्षक सङ्गठनमा पनि माले र मसाल भन्ने लेबिल लागिसकेको थियो । गणेश पण्डित, मदनसिंह खड्का, शारदारमण नेपाल मसालपट्टि थिए भने मालेतर्फ बोल्नसक्ने कोही भएन । त्यसैले शिक्षक सङ्गठनका महासचिव सिताराम मास्केले नुवाकोट हेर्न मलाई जिम्मा दिनुभयो र विधिवत् रूपमा २०३९ फागुनदेखि मुकुन्देश्वरी प्राविमा शिक्षक भएर ढुङ्गाना गाउँ गई सङ्गठन गर्न थालें ।

मैले नुवाकोटमा करिब २०४२ सम्म काम गरें, त्यति वेला माले र अनेरास्ववियु पाँचौं नुवाकोटमा शक्तिशाली भैसकेका थिए । यसबीचमा मैले अन्य जिल्लाहरूमा पनि पार्टी सङ्गठनका कामहरू गर्नुपरेकाले बढी बोझ महसुस गरेर २०४२ देखि लेखनमा मात्र सक्रिय रहने निधो गरें, तदुपरान्त के भए कसो भए मलाई त्यति जानकारी रहेन । काठमाडौंमा काठमाडौं नुवाकोट सम्पर्क कमिटीका अध्यक्ष वसन्त पाण्डे र म सँगै बस्थ्यौं । हामी पनि छुट्टिएर दर्गदिशा लाग्यौं । तर पनि जब जब राजनीतिक जीवनको स्मरण हुन्छ, तब तब म नुवाकोटलाई सम्झन्छु । पछिसम्म पनि मैले पत्रपत्रिकामा लेख्दा मेरो नामको पछि हालः नुवाकोट लेख्ने गर्थें । वैशाख ६ गतेको कार्यक्रममा एमाले जिल्ला कमिटीका पूर्वअध्यक्ष नारायण खतिवडाले त्यहाँ प्रसङ्गवश मेरो चर्चा गर्नु भएकाले यति स्मरण भएको हो ।

राजनीतिकै सिलसिलामा मेरो कपिल अधिकारी र श्याम रिमालसित चिनाजानी भयो । उहाँहरू दुवैजना सित आजसम्म पनि अनन्य मित्रता कायम छ । कपिलजी हाल ताइवानमा बस्नुहुन्छ भने श्याम रिमालजी राससको सम्पादक हुँदै हाल उपनायव प्रबन्धकसम्म बन्नुभएको छ । मैले यति उल्लेख गर्नु परेको कुराचाहिँ के भने त्यत्रो समारोहमा श्याम रिमाललाई मञ्चमासम्म बोलाइएन । उहाँ नुवाकोटकै बासिन्दा भएर त्यति ठुलो पदमा पुगिसकेको व्यक्ति पनि हो । त्यहाँ भारेभुरे टोले नेताहरू मञ्चमा आसीन थिए । तर श्यामजी श्रोतादीर्घामा हुनुहुन्थ्यो । श्यामजीको विशेषता अर्को पनि छ, उहाँले भएभरका पत्रपत्रिकालाई सक्दो मद्दत गर्नुभएको छ र नुवाकोटको सानोभन्दा सानो समाचारलाई पनि राससमा समेट्ने प्रयत्न गर्नुभएको छ । लौ मैले त राजनीति नै छाडिदिएँ रे ! तर साहित्यमै पनि मैले नुवाकोटमा २ वटा सम्मान प्राप्त गरेको छु र ५ वर्ष अध्यापन पनि गरेको छु । तर त्यहाँ नारायण खतिवडाले मात्र नामोच्चारण गर्नुभयो ।

अर्को कुरा म सानैदेखि अति व्यस्त मान्छे हुँ । साहित्यिक कार्यक्रममा बाहेक अन्यत्र यसरी दिनै माया मारेर हिँड्दिनँ । लेखनको जिन्दगी महाव्यस्त जिन्दगी हो भन्ने लेखनमा लागेकालाई मात्र थाहा हुने कुरा हो । पहिले त समाचारका सिलसिलामा पनि हिँड्थेँ तर त्यसले लेखनमा धेरै बाधा दिएकाले छाडिदिएँ । श्यामजीको पनि व्यस्तको जीवन छ । एकातिर सरकारी जागिर, समाचार र लेखनको जिम्मेवारी बोझ नहुने कुरै भएन । हामी सँगै चिम्टेश्वर महोत्सव हुँदै नुवाकोट साहित्यिक महोत्सवसम्मै सँगै गएका छौं, तर हामी दुवै यति अभागी भयौं कि हामी दुवैले रचना वाचनसम्म गर्न पाएनौं । तर पनि श्यामजीले तिनका समाचारलाई राससमा र पत्रिकामा सम्प्रेषण गर्नुभएको छ । नेपालमा वामपन्थी हौं भन्नेको के कुसंस्कार हावी छ भने आफू पदमा पुगेपछि अगाडिका मान्छेको योगदानलाई चट्टै भुल्ने गर्छौं । एउटा व्यक्ति सधैंभरि पार्टीकै लागि खटिरहन सक्दैन भन्ने हेक्का वामपन्थी भनिनेले हेक्का राख्तैनौं । यही कमजोरीमाथि अरूले शासन गरिरहेका हुन्छन् ।

जब जब नुवाकोटको नाम आउँछ, मलाई मेरै जिल्लाको स्मरण गराउँछ । नुवाकोटबारे मेरा थुप्रै रचना पनि प्रकाशित छन् । तर यी कार्यक्रमहरूमा किन लगियो भन्नेचाहिँ आजसम्म मैले भेउ पाउन सकिरहेको छैन । नुवाकोटमाथि नै केन्द्रिकृत रचना सुनाउन हो भनुँ भने रचना वाचन गर्न लगाइएन, न त बोल्न नै लगाइयो । ज्योतिषीय दृष्टिले पनि बोल्न त सकिन्थ्यो नै । त्यस्तो पनि केही भएन । श्यामजीलाई के कस्तो लागेको छ कुन्नि ? मलाईचाहिँ अचम्मै लागिरहेको छ । सायद यसको उत्तर जीवनभर पाउन्न होला । किमधिकम् । एवमस्तु ।

  • महाकवि देवकोटा आश्रम, हालः बेघर