बझाङमा कांग्रेस उम्मेदवार अगाडि, इलाममा एमालेको अग्रता कायमै

बझाङमा कांग्रेस उम्मेदवार अगाडि, इलाममा एमालेको अग्रता कायमै


बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले दुई सय ४९ मतले अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अवस्थाअनुसार उनलाई सात हजार चार सय ८६ मत प्राप्त भएको छ ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार एक दुई मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।

हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका-९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

एमालेका नेम्बाङको अग्रता कायमै

इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनलाई सात हजार ६ सय ७७ मत प्राप्त भएको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गरेका छन् ।

१९ हजार एक सय ८१ मत गणना हुँदासम्म दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।