‘सूचना साम्राज्यवाद’बारे बुझ्नैपर्ने कुरा

‘सूचना साम्राज्यवाद’बारे बुझ्नैपर्ने कुरा


अहिलेको सूचना तथा सञ्चार स्वतन्त्र र निष्पक्ष छैन भन्ने कुरा हामीले सञ्चारमा संसारलाई नियन्त्रण गरिरहेको अमेरिकाको आमसञ्चार नीति हेरेर सहजै अनुमान गर्न सक्छौँ । अमेरिकालगायत पश्चिमाहरूले अहिले संसारका अधिकांश देशमा समाचार उत्पादनको अन्यायपूर्ण शैली पैठारी गरिरहेका छन् । साम्राज्यवादनियन्त्रित सूचना-सञ्चारको आधुनिक प्रविधिमार्फत उनीहरूले सूचना अफवाह फैलाइ संसारलाई तथ्यगत जानकारीबाट धेरै टाठा पुऱ्याइरहेका छन् । जुन तथ्यबारे टकर काल्सनले पुटिनको अन्तर्वार्ता लिएपछि पुनः संसारले बुझ्ने मौका पायो । त्यो अन्तर्वार्ताद्वारा पश्चिमाहरूले कसरी युक्रेनलाई खरानी बनाउँदै रुसलाई युद्धको लागि उकासिरहे भन्ने कुरा पुटिनकै बोलीमा सुन्न र बुझ्न पाए । त्यो घटनापछि साम्राज्यवादीहरूले सूचना र सञ्चारमा संसारका सबै नागरिकहरूलाई समान पहुँच दिएका छैनन् भन्ने कुराको राम्रोसँग पुष्टि भयो ।

यिनै र यस्तै कारणहरूले गर्दा साठीकै दशकबाट सूचना र सञ्चार क्षेत्रमा साम्राज्यवादी बाधा पन्छाउन विकासशील देशहरूले नयाँ विश्व सूचना तथा सञ्चार व्यवस्था (एनडब्ल्युआईसीओ) स्थापना गर्नुपर्ने विषयमा बहसको थालनी गरेका थिए । परिणामतः संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्को)अन्तर्गत सन् १९८० मा मेकब्रिड आयोग गठन भएको थियो । सञ्चारजगतमा निश्चित समूहको एकाधिकार हटाउन सो आयोगले विभिन्न सिफारिस गरेको थियो । स्मरणीय कुरा, मेकब्रिड आयोगका सिफारिसलाई आफ्नो सञ्चार प्रभुत्व खुम्चाउन खोजेको ठानेर संयुक्त राज्य अमेरिका र बेलायतले प्रेस स्वतन्त्रतामाथि हमला भएको हवाला दिँंदै युनेस्कोबाट हात झिकेका थिए ।

अमेरिकाद्वारा नियन्त्रित सूचना स्रामाज्यवादले संसारभरी आफ्नो स्वार्थअनुशार प्रोपगन्डा मच्चाउनको लागि सूचना नीति निर्माण गर्छ । आफ्नो प्राथमिकताका तहहरूलाई क्रमबद्ध रूपमा लागु गर्नको लागि संसारभरिका कठपुतली सरकारद्वारा नियन्त्रित सञ्चारसाधन, मिडियाहाउसका लगानीकर्ता र आफूद्वारा परिचालित पत्रकारहरूलाई आदेश दिन्छ ।

थाहा भएकै कुरा हो कि पश्चिमाले विकासशील देशका मुद्दालाई सधैं ओझेलमा राख्छ । त्यसको परिणामस्वरुप विश्व मामिलाको समाचार सम्प्रेषणमा साम्राज्यवादद्वारा नियन्त्रित सञ्चारमाध्यमले पक्षपात गर्नु सामान्य हो । साम्राज्यवादीले आफूलाई हेर्ने तेस्रो विश्वको धारणासमेत पश्चिमा कोणले निर्धारण गर्ने गरेको छ । हामीलाई पुँजीवादी व्यवस्थाका सकारात्मक पक्षबारे सुनेर नथाक्ने खालका बखान सुनाइन्छ । क्रमशः हाम्रो मनोविज्ञान उनीहरूको स्वार्थअनुकुल बनाउँदै लगी मान्छेलाई रक्तबाहिनी रोबर्टमा रुपान्तरण गरिन्छ ।

सूचना साम्राज्यवादको सबभन्दा ठूलो समस्या भनेको लक्षित क्षेत्रमा उसले दिने आर्थिक र राजनीतिक दबाब हो । त्यसले कुनै निश्चित राजनैतिक प्रणाली र विकासको ढाँचालाई जबर्जस्ती अब्बल प्रमाणित गर्दै त्यही व्यवस्था अन्य देशमाथि थोपर्ने प्रयास गर्छ । उसले थोपरिएको युद्धउन्माद, हत्या, लाखौँको आमहत्यालाई समेत सही कारवाहीको रुपमा व्याख्या गरिरहन्छ । उसले आफ्नो संकटमा युएनको आदेशलाई पनि रद्दीको टोकरीमा फ्याँकिदिन्छ । त्यसको उदाहरण गाजामा अमेरिकी तथा इजरायली सेनाद्वारा गरिएको आम नरसंहार वा जातिय सफाया हो । अनि नरसंहारको विरोध गर्ने देशमाथि गरिएको नाकाबन्दी र नेतृत्वको दानविकरण पनि हो ।

सूचना साम्राज्यवादका यस्ता धेरै उदाहरणहरूमध्ये तिब्बत, हङकङ, ताइवान, सिन्च्याङ, इरान, इराक, उत्तरकोरिया, इजरायल, दक्षिण अफ्रिका, भेनेजुएला, क्युवा, हमास युद्ध लगायतबारे पश्चिमा मिडियाद्वारा भइरहेको समाचार उत्पादनलाई नियाल्न सकिन्छ । पश्चिमा सञ्चारमाध्यमहरूले हङकङमा कसरी शासन चलाउनुपर्छ भनी आदेश दिन खोज्दै छन् । सिन्च्याङका अतिवादीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरू चीनलाई सिकाउन खोजिरहेका छन् । तिब्बतमा कुन संस्कृतिलाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा उपदेश दिन खोजिरहेका छन् । भारतले के गर्नुपर्ने पाठ पढाउँदै हिँड्छन् । तर, आफ्नो देशको रंगभेदमा मारिएका जर्ज फ्लोयड, अमेरिकामा विद्यार्थीहरूमाथि भैरहेको अति दमन, बन्दुक आतंक, युरोपमा किसानहरूका विशाल प्रदर्शनको बारेमा केही बोल्दैनन् ।

इराकमा आमविनाशकारी हातहतियार भएको भनी सं.रा. अमेरिकी सञ्चारमाध्यमले दिएका बयानलाई हामीले सबभन्दा पछिल्लोपटक विश्वास गरेका थियौँ । यस्तै मिसनमा साम्राज्यवादी समाचार उत्पादनकै कारण मध्यपूर्वमा विपत्ति निम्तियो । जुडिथ मिलरजस्ता अमेरिकी पत्रकारहरूलाई सन्देहास्पद पात्रहरूले इराकमा आमविनाशकारी हतियार भएको समाचार बनाउन भिषण दबाब दिए । मध्यपूर्वको सिङ्गो शान्त देश मानव कंकालले भरियो । अझै उनीहरूले प्यालेस्टेनी जनताको रगत पिइरहेका छन् । हामी अझैसम्म त्यही आधारले उत्पादन गरेका न्युजहरूको भ्रमले बाँचिरहेका छौँ ।

अन्त्यमा पत्रकार, लेखक, साहित्यकार वा दार्शनिकले आफूलाई ठोस रुपमा लिन र सुदृढ पार्न सक्रिय बन्नु, पुरानो अधिरचनासहित मरणोन्मुख आधारको उन्मुलनको निम्ति जोखिम मोल्दै कलमलाई सक्रिय बनाउनु आवश्यक छ । त्यसैले यो वैश्विक साम्राज्यबादविरुद्धको ध्रुवीकरणलाई तीव्रता दिने समय हो । साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न वैश्विक संयुक्त मोर्चा निर्माण गर्दै क्रमशः आफ्ना मौलिक विशेषतासहितको समाजवादी आधार तथा अधिरचनाबारे बहसलाई तीव्रता दिने समय हो । ब्यक्तिवाद भन्दा सामुहिकतावादतर्फको चिन्तन प्रणाली संसारको उत्कृष्ट सोच हो । युद्धको लागि भन्दा शान्तिको भावना उत्कृष्ट हो । त्यसैले यो समय भनेको त्यसको लागि लेख्ने, बोल्ने र भविष्यको उज्यालोबारे संसारलाई जागरुक गर्ने समय हो ।

जसरी गाजा, अफ्रिकालगायतमा अमेरिकी कठपुतली इजरायलले बम वर्षा गरेर हजारौँ निरपराध बच्चा र आमाहरूको हत्या गरिरहेको छ, अमेरिकाले अनावश्यक युद्ध आयात गरेर आफ्नो हतियार ब्यापार वृद्धि गरिरहेको छ । त्यो साम्राज्यवादी प्रवृत्तिको विरोध गर्नु पनि पत्रकारको दायित्व हो । आज सिङ्गो अफ्रिका पश्चिमा उपनिवेशवादको विरुद्ध उठेको छ । दक्षिण अमेरिका युद्धविरोधी खेमामा ध्रुवीकृत भइरहेको छ । एसिया जागिरहेको छ । यसले साम्राज्यवादी युद्धपिपासु चरित्रलाई पछाडि धकेलिरहेको छ । अमेरिकामा भएको विद्यार्थीको सरकारविरोधि प्रदर्शन उग्र हुँदै गर्दा विश्वब्यापी प्रतिरोध आन्दोलनलाई मद्दत पुगेको छ । यसले पनि अमेरिकानियन्त्रित पश्चिमा शक्तिको चरित्र उदाङ्गो पार्न मद्दत मिलेको छ । त्यसैले पत्रकारहरूले यी र यस्ताखाले रक्तपिपासु युद्धहरूको विरुद्ध लेखिरहनु पर्दछ ।

अहिले विश्व साम्राज्यवाद इतिहासमा सबैभन्दा कमजोर भएको छ, र त्यसले उसको अवस्थालाई अन्त्यतर्फ लगिरहेको छ । उसका प्रत्येक हाडजोर्नीहरू कमजोर हुँदै गइरहेका छन् । यदि पुराना वैश्विक आधिरचनाका अंगहरूले आधारको सहायक भूमिका निभाउन छाडे भने, यदि अधिरचनाले आफ्नो आधारका प्रत्येक जोर्नीहरूलाई कस्न छोडे भने अधिरचनाको स्वरुपले अर्को प्रणालीको माग गरिरहेको हुन्छ वा नयाँ प्रणालीको लागि राज्यविप्लवको । त्यतिबेला सही सूचना र दिशानिर्देशको महत्वपुर्ण भूमिका हुन्छ । क्रमशः अग्रगामी परिवर्तनको लागि कलमले अघिल्लो आधारको सेवा गर्न छोड्छ र रुपान्तरणको लागि जोखिमपूर्ण भूमिका खेल्न थाल्दछ । अन्तमा कलम, आस्थामा रुपान्तरित हुन्छ र समाजको नेतृत्व गर्न थाल्दछ । अहिले संसारभरका पत्रकार र लेखकहरू टकर काल्सन बन्ने दिशामा छन् । उनीहरू शान्ति र मानवताको पक्षमा न्यायिकरूपले आफ्नो विवेकको प्रयोग गर्दै लेखिरहेका छन् । कलम वास्तविक शक्तिमा रुपान्तरित हुँदै गइरहेको छ ।

त्यसैले, ‘टाइटनिक’रुपी विश्वलाई सम्भावित दुर्घटनाबाट बचाउन शान्ति र परिवर्तनको पक्षमा संसारभरिका लेखक, बुद्धिजीवी र पत्रकारहरूको दबाब जरुरी छ । यदि समयमै टाइटनिकलाई हिमशिलामा ठोक्किनबाट बचाउने र संसारलाई प्रतिष्पर्धा वा नाफाको युगबाट भातृत्व तथा समानताको युगमा लैजाने हो भने लेखेर परिवर्तनको आह्वान गर्ने समय आइपुगेको छ ।