प्रहरी श्रीमती संघ : २८ जनालाई सिलाइ बुनाइ उन्नत तालिम

प्रहरी श्रीमती संघ : २८ जनालाई सिलाइ बुनाइ उन्नत तालिम


प्रहरी श्रीमती संघले अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार, बहालवाला प्रहरी परिवार र पूर्व प्रहरी परिवारका सदस्यहरूलाई व्यक्तित्व विकास गरी आत्मानिर्भर बनाउन सीपमूलक तालिम दिने उद्देश्यका साथ २८ जना सदस्यलाई सिलाई कटाई उन्नत तालिम दिएको छ ।

श्रीमती संघको आयोजना, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको समन्वय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरीको आर्थिक सहयोगमा प्रथम समूहअन्तर्गत ३ महिनाअवधिको उक्त सीपमूलक तालिम प्रदान गरिएको हो ।

श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच उक्त तालिम समापन गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा सिलाई मेसिन हस्तान्तरण गरिन् ।

अध्यक्ष कुँवरले तालिमबाट हासिल गरेका व्यावसायिक ज्ञान र सीपलाई प्रयोग गरी व्यक्तित्व विकासका साथै स्वरोजगार भई प्रशिक्षार्थीहरू आत्मनिर्भर हुने अपेक्षा लिइएको बताएकी छन् । उनले आगामी दिनमा अन्य सीपमूलक तालिम प्रदायक संघसंस्था तथा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी संघले विभिन्न तालिमहरू सञ्चालन गर्ने बताइन् ।

तालिम संयोजक अनिता गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा संघका पदाधिकारी, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालसमेतको उपस्थिति रहेको थियो ।