एउटा कोरस गीत गाऔँ !

एउटा कोरस गीत गाऔँ !


भत्कियो
बिग्रियो
सकियो
खतम भयो
खाली भयो
रित्तो भयो
शून्य भयो
यहाँ गरेर केही हुँदैन
यो देश यस्तै हो
सतीले सरापेको देश हो !

यी वाक्याङ्शहरू
वा, यस्तै वाक्याङ्शहरू
नेपालीका हुन्
नेपालभित्र बस्ने र,
नेपालबाहिरका पनि ।

यो, भन्नेहरू छन्
विद्यार्थी,
ब्यापारी,
अभियन्ता,
यहाँसम्म कि, राजनीतिज्ञहरू पनि ।

अब भन्नुस्
तपाईंसित असन्तुष्टि मात्र छ,
गुनासो मात्र छ,
निराशा मात्र छ,
क्रोध मात्र छ,
आक्रोश मात्र छ,

तर तपाईं,
यो पनि सोच्नुहोस् त–
तपाईंसित जे छ,
जे पेशा छ,
जुन शीप छ,
जे सोच छ,
त्यसको कति अंश
कति प्रतिशत
आफूले चाहेको क्षेत्रमा लगाउनुभएको छ त ?

भन्नलाई त सजिलो छ
दोष लगाउन त के मेहनत गर्नुपर्छ र ?
खोट लगायो, भैहाल्यो !

यी हिमाल,
यी पहाड़
यी झरना
अनि
बुद्ध र सगरमाथाको
कति महत्व बुझ्न सक्यौँ ?
वा सकेनौँ ?
कस्तुरी झैँ
बास्ना आफÞैसित बोकी
अन्यत्र खोजिरहेका छौँ,
भौंतारिइरहेका छौँ,

तपाईंले गर्न सक्ने कुरा धेरै छन्
यहीँ छन्, त्यहीँ छन्,
जतासुकै छन् !

त्यसैले,
आजैदेखि
अहिल्यैदेखि
‘बन्द’ गर्नुस्
असन्तुष्टिको ‘जप’ गर्न
आजैदेखि रोक्नुस् विरहको गीत गाउन
बरू, आउनुहोस्
हामी सबै मिलेर,
एउटा कोरस गीत गाऔँ–
‘यो देशलाई अझ सुन्दर बनाऔँ !’