पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।

रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए । व्यास-५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उहाँले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गर्नुभयो ।

व्यास नगरपालिका-५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ । कुल एक हजार नौ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको एक हजार छ सय मिटर काम पूरा भएको छ भने नौ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको छ ।

सबइन्जिनियर यादवका अनुसार आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ, उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।